२५ पुष २०७७, शनिबार
  • देवराज पन्त

मकवानपुर , २५ पुस। उपप्रधामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनताका पक्षमा गरिने सबै काममा बाधा र अवरोध श्रृजना गरेपछि बाध्य भएर संसद विघटनको निर्णय गर्नु परेको दावी दोहोर्याउनु भएको छ ।बागमती प्रदेशको राजधानी हेटौंडामा प्रधानमन्त्री केपी ओली समूहका जिल्ला स्तरीय नेता कार्यकर्ता भेलालाई सरकारका उपप्रधानमन्त्री पोखरेलले सरकारले सिफारिस गरेको बैशाख १७ र २७ मै निवार्चन हुने र सम्मानित अदालतको निर्णय समेत आफूहरुको पक्षमा नै आउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले गरेका विकासका कामलाई इष्र्या गरेर आफू विरुद्धको अविश्वास प्रस्ताव ल्याईएको दावी गर्नुभयो । उहाँले नेता विग्रिए प्रचण्ड हुने र प्रचण्ड विग्रिए माधव नेपाल हुने भन्दै कटाक्ष समेत गर्नुभयो । भेला कार्यक्रममा संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री दाबा लामाले समेत सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य काशीनाथ अधिकारी, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल सहित केपी समूहका केन्द्रीय सदस्य एवम् जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस भेलाले प्रदेश सभा सदस्य मुनु सिग्देल र प्रेमबहादुर पुलामीलाई क्रमश जिल्ला अध्यक्ष र सचिवबाट हटाउँदै नेकपा जिल्ला अध्यक्षका रुपमा एकलाल श्रेष्ठलाई चयन गरिएको समेत घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV