२५ पुष २०७७, शनिबार

काठमाडौं, २५ पुष । पुरुषतर्फ सुरेश भुजेल र महिलातर्फ अनिशा गुरुङ्ग कोभिड १९ पश्चात भएको पहिलो क्रस दुवाथलन सिरिजमा प्रथम स्थान हात पार्न सफल भएका छन् ।

नेपाल ट्राईयाथलन संघको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिबार नेपालको सवैभन्दा पुराने ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनटका साथ भुजेल र ४३ः५४ मिनटका साथ अनिशा पहिलो भएका हुन् ।

नेपालका पहिलो म्याराथन धावक गजराज जोशिको नामले समेत परिचित टोखामा भएको सिरिजका बिजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग तथा महिला बिजयी खेलाडीले काठमाडौं गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।

टोखा सहरको गणेश स्थानदेखि चण्डेश्वरीसम्म २.५ कि.मि. दौड, १० कि.मि. साइक्लिङ्ग र १.५ कि.मि. दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कार तथा प्रमाण पत्र बितरण गरे ।

स्थानीय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिडका कारण बिश्वलाईनै अक्रान्त बनाइरहेको अवस्थामा स्थानीय ब्यक्तिहरुलाई क्रियाशील बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्दै जाने उद्धेश्यले आयोजना गरिएको सिरिजमा पुरुष तर्फ प्रेम सिंह मोया ३७ः०८ मिनट समयका साथ दोश्रो र आईतसिंह तामाङ्ग ३७ः१३ मिनटका साथ तेश्रो भए ।

यस्तै महिलातर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनटका साथ युश्का महर्जन दोश्रो र तेश्रो भए । दोश्रो हुने खेलाडीहरुले क्याफेसिनोको तर्फबाट ५ सय बराबरको भौचर र प्याङ्क बाइकको १५ सय बराबरको साइकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाइकको तर्फबाट १ हजार बराबरको साईकल मर्मतको भौचर प्राप्त गरे ।

खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै टोखा नगरपालिका वडा नं। २ का अध्यक्ष दीपकराज जोशीले ऐतिहासिक सहर टोखालाई महत्व दिएर प्रतियोगिता आयोजना गरेकोमा नेपाल ट्राइयाथलन संघलाई धन्यवाद दिंदै आफू पनि खेल क्षेत्रबाटनै अगाडि बढेको भन्दै आगामी दिनमा संघ संगै सहयात्रा गर्न इच्छुक रहेको बताए ।

नयाँ खेलाडी उत्पादन गर्ने, स्थानीय स्तरमा खेलप्रति जागरण गर्दै स्थानिय खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने उद्धेश्यले आजोजन गरिएको सिरिजमा ट्राइयाथलन संग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्राथमिकता दिइएको छ ।

हामीले स्थानीय स्तरमा युवाहरुलाई खेलप्रति जागरण गर्दै नयाँ खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्धेश्यले सिरिजलाई महत्वका साथ अगाडि बढाएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।

प्रत्येक दुई दुई हप्ता चार महिनासम्म आयोजना हुने सिरिजको दोश्रो संस्करण माघ १० गते कीर्तिपुरमा आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV