२५ पुष २०७७, शनिबार
  • अमर काफ्ले,

इनरुवा, २५ पुष । बिदाको दिन (शनिबार) सरकारी कर्मचारीले प्रयोगमा ल्याएका सवारीका साधन इनरुवामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी कार्यालय सखुवागाछीले उक्त सवारीका साधन नेपाल निजामती कर्मचारी संगठन इनरुवाको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो ।

ट्राफिकले सो स्थानबाट एक दर्जन बढी सरकारी नम्बर प्लेट भएका सवारीका साधन नियन्त्रणमा लिएको छ ।

सरकारी गाडी लिएर कर्मचारीहरु राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयनका लागि आयोजित चुनावमा सहभागि हुन पुगेका थिए । बिदाको दिन कुदाइएका त्यस्ता सवारी ट्राफिकले भेला पारी सिक्रीले बाँधेर नियन्त्रणमा राखेको हो ।

शनिबार बिदाका दिन भएकाले दुरुपयोग गरी प्रयोगमा ल्याइएका मोटरसाइकल र चार पाङग्रे गाडी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय सखुवागाछीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीका साधन उपरको कारबाहीको प्रकृया माथिको आदेश अनुरुप हुने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV