२४ पुष २०७७, शुक्रबार
  • अभिमन्यु लामिछाने

उदयपुर, २४ पुष । उदयपुरका वरिष्ठ पत्रकार कौशल चेमजोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ पुस्तक बजारमा आएको छ । बिहीबार काठमाडौंको सत्यमोहन जोशी लोकसाहित्य भवन बखुम्बहालमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशीले पुस्तकको लोकार्पण गरेका थिए ।

उदयपुर अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएको पुस्तकमा उदयपुरे इतिहासको खोजमुलक अध्ययनलाई सचित्र उतारिएको पत्रकार चेमजोङले दावी गरेका छन् । उनका अनुसार पुस्तकमा उदयपुरको ऐतिहासिककालदेखिको जनजीवन, सामाजिक रहनसहन, बसोबास, समुदाय र जातजाति तथा समाज विकासक्रमसँगै जिल्लाको पर्यटन, राजनीति, कृषिलगायत विभिन्न विषयमाथि खोज-अनुसन्धान विवरण पढ्न पाइने छ ।

चेमजोङ उदयपुरमा ३ दशक बढी समयदेखि निरन्तर मोफसलको पत्रकारिता र साहित्य तथा पुस्तक लेखनमा कलम चलाउँदै आएका ब्यक्ति हुन। यसअघि उनका ‘उदयपुरको पर्यटन’, ‘उदयपुर सिमेन्ट उद्योग लि. जलजलेको चिनारी’लगायत विभिन्न आधादर्जन पुस्तक प्रकाशित भईसकेका छन् ।

चेमजोङ झर्रा शब्द लेख्ने साहित्यकार समेत हुन् । ‘डुकुरे साँईला’को साहित्यिक नामबाट चिनिने उनी नेपाल सरकारबाट नगद पुरस्कारसहित ‘वरिष्ठ पत्रकार’को उपाधि प्राप्त व्यक्ति हुन् । साथै नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’को उपाधिसमेत प्राप्त गरेका चेमजोङ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष र उदयपुर शाखाका संस्थापक सदस्य हुँदै सचिव, उपाध्यक्ष र दुई कार्यकाल अध्यक्षसमेत भईसकेका वरिष्ठ पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV