२३ पुष २०७७, बिहीबार
  • रामहरि गजुरेल,

नुवाकोट, २३ पुष । पृथ्वीनारायण शाह र गोरखाली फौजले प्रयोग गर्ने मुलबाटोलाई नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ मार्फत् पदमार्गको रुपमा विकास गर्ने थालनी गरेको छ ।

एक वर्षअघि थालनी भएको गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्म नेपाली सेनाले एकीकरण पदमार्गको रुपमा यसपटक पनि पदयात्रा गरेको हो ।

पुष २७ गते पृथ्वी जयन्तीको अवसर पारेर एक वर्षअघिदेखि थालनी भएको पदयात्रा यस वर्ष पनि २१ गते मंगलबारका दिन गोरखा दरबारबाट सुरु भई बिहीबार साँझ नुवाकोट आइपुगेको छ ।

दुई सय ५० वर्षभन्दा अघिदेखि र त्यसपछिका समयमा गोरखा हुँदै काठमाडौं ओहोर–दोहोर गर्न तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोमा सोही समयमा गोरखाली फौजले प्रयोग गर्ने पोशाकदेखि हातहतियारसहित नेपाली सेनाले पदयात्रामा एकिीकरण कालीन झल्को दिएका छन् ।

नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’मा गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै थालेको यात्रामा बोर्लाङबाट हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको थियो ।

पदयात्राका धादिङस्थित देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए । पदयात्राको टोलीले बिहीबार कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई एकीकरण दीप हस्तान्तरण गरेको थियो ।

नुवाकोटको जबरजङ्ग गणका प्रुमुख सेनानी उदयबहादुर लामिछानेको नेतृत्वमा सामरी भञ्ज्याङ, कल्याणपुर, त्रिशुली हुँदै शुभघाटमा सेनाको पदयात्रा टोली आइपुगेको छ । यहाँ आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले पदयात्रीहरुलाई भव्य स्वागत गरेको थियो ।

दीप र झण्डासहित काठमाडौंँको पल्टन यही पुस २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंँसम्म उक्त पदमार्गको दूरी २६ कोस छ ।

पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट र वि.सं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोर–दोहोर गरेका इतिहास छ ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाललाई एकताबद्ध राख्दै एकीकरणकालीन इतिहासलाई जीवित राख्न यस एकीकरण पदयात्रा महत्वपूर्ण रहेको नुवाकोटस्थित जबरजङ्ग गणका प्रुमुख सेनानी उदयबहादुर लामिछानेले बताए ।

‘देशभक्ति र राष्ट्रियताप्रति अहिलेको पुस्ता र भोलिसम्मका भावी सन्ततिलाई जागरुक गराउँदै पुर्खाको योगदान सम्झना गराउन पदयात्राले खास अर्थ राख्नेछ’, प्रमुख सेनानी लामिछानेको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV