२३ पुष २०७७, बिहीबार
  • अमर काफ्ले

इनरुवा, २३ पुस । इनरुवामा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा र सुविधाको अवस्था बुझ्न अनुगमन थालिएको छ । इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले नगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन थालेकी हुन् ।उनले वडा तहमा रहेका स्वास्थ्य संस्थाको अवस्था र प्रवाह हुने सेवाको साथै सर्वसाधारणको प्रतिकृया बुझ्न अनुगमन थालिएको बताइन् । पोखरेलले स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको चुस्ततासहित पर्याप्तताको लागि अनुगमन थालिएको बताइन् ।

टोलीले आज इनरुवा नगरपालिकाको वडा नम्बर २,६,७,९ र १० नम्बर वडाको अनुगमन सकाएको छ । अनुगमनका क्रममा उपप्रमुखले स्वास्थ्य संस्थाको भवनको अवस्थाका साथै औषधी पर्याप्तता भए नभएको बारे जानकारी लिएकी छिन् । साथै उनले सेवाग्राहीको दैनिक उपस्थिति र स्रोत साधनको उपलब्धताको बारेमा समेत सोधखोज गरेकी छिन् ।

उपप्रमुख पोखरेलले स्वास्थ्य संस्थाको सेवा प्रवाह चुस्त बनाउन समेत निरन्तर अनुगमन जरुरी रहेको बताइन् । उनले अपवाद बाहेकका स्वास्थ्य संस्थाका हकमा औषधी अभावको समस्या देखिएको बताइन् । पोखरेलले केही स्थानमा सरसफाईमा समेत कमी पाइएकाले सुधार्न निर्देशन दिइएको बताइन् ।

अनुगमन पश्चात संचारकर्मी सँग आफ्ना भनाई राख्दै उपप्रमुखले अनुगमनको क्रमलाई निरन्तरता दिइने बताइन् । पोखरेलले स्वास्थ्य अति संवेदनशील विषय भएकाले समेत सेवा प्रवाह र स्रोत साधनको उपलब्धताको सवालमा नगरपालिकाको कार्यालयले कमी महसुस हुन नदिने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV