२३ पुष २०७७, बिहीबार
  • भगतराम थारु,

नेपालगन्ज, २३ पुष । नेपालगन्ज उपमहानगरपालिकाभित्र अबैध पार्किङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले व्यवस्थापन गर्दै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको अति व्यस्त मानिने जिल्ला प्रशासन कार्यालय, भेरी अस्पताल, नापी कार्यालय र मालपोत कार्यालय अगाडि जथाभावी रुपमा राखिएको अवैध पार्किङलाई बिहीवार व्यवस्थित गरेको हो ।

अबैध रुपमा राखिएको मोटरसाइकल, अटोरिक्सा तथा साइकललाई ट्राफिक प्रहरीले जरिवाना समेत गरेको छ । जेब्राक्रसिङमा समेत पार्किङ्ग गरिएको हुनाले अवैध रुपमा राखिएको मोटरसाइकलमा लक लगाई जरिवाना काटेर छाडेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

साँघुरा गल्ली र सवारी साधनको बढ्दो चापले अस्तब्यस्त बनेको नेपालगन्जको सडकमा जथाभाबी रुपमा पार्किङग गर्ने गरिएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले जानकारी गराए ।

सडक साँघुरो भएको कारण पार्किङगमा समस्या आएको उनले बताए । पार्किङलाई सहज बनाउन ट्राफिक प्रहरी अहोरात्र खटिने ट्राफिक प्रहरी प्रमुख भण्डारीले जानकारी गराए । ट्राफिक व्यवस्थापनमा कुनै किसिमको कमी आउन नदिन दैनिक चेकजाँच गरी राजश्व उठाउने गरेको पनि उनले बताए ।

दैनिक रुपमा ट्राफिक व्यवस्थापनका कुरालाई मध्यनजर गर्दै जनचेतना फैलाउने कार्य भइरहेको उनले बताए । त्यस्तै पश्चिम नेपालकै प्रमुख व्यापारिक नगर नेपालगन्ज भएपनि ट्राफिक व्यवस्थापन हुन नसक्दा शहरनै कुरुप बन्दै गएको स्थानीय बताउँछन् ।

मुख्य सडक सुर्खेत रोड फोर लेनमा विस्तारित छ तर पनि यात्रुहरु सहज रुपले अझै यात्रा गर्न पाइरहेका छैनन् । पार्किङ्ग व्यवस्थापन नहुदाँ दुर्घटनाको जोखिमसँगै सर्वसाधरणलाई हिँडडुलमा समस्या छ । पार्किङ स्थलको अभाव भएपछि यातायातका साधानहरु जथाभावी पार्किङ्ग गरिएको अवस्था रहेको छ ।

भित्री सडकहरु साँघुरा र अव्यवस्थित हुँदा यात्रा गर्न अप्ठ्यारो पर्ने गरेको स्थानीय नागरिकको गुनासो छ । गाडी पार्किङ गर्ने स्थान, चढाउने र ओराल्ने निश्चित ठाउँ समेत नतोकिदिदाँ दुर्घटनाको जोखिम बढेको स्थानीय बुधलाल रोकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV