२३ पुष २०७७, बिहीबार
  • केदार शर्मा,

चितवन, २३ पुष । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि चितवनमा चालक तथा सहचालकको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक कार्यालय भरतपुरले मौलाकालिका अस्पतालसँग सहकार्य गरेर निःशूल्क स्वास्थ्य परीक्षण गरेको हो । ७५ जना चालकमा गरिएको स्वास्थ्य परीक्षणमा अधिकांशलाई उच्च रक्तचाप र सुगर रहेको पाइएको जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रहरी निरीक्षक दया कृष्ण भट्टले जानकारी दिए ।

चालकको स्वास्थ्यमा हुने समस्याका कारण समेत दुर्घटना बढ्दै गएको पाइएको छ । यही पुष १९ गते माडीमा ४० वर्षीय दयाराम महतोलाई उच्च रक्तचापले च्यापेको कारण ट्याकटर चलाउदा चलाउदै बिहोस हुँदा दुर्घटना भएको थियो ।

त्यस्तै यता भरतपुरस्थित गोन्द्राङमा पनि क्षयरोगका बिरामी रहेका एक जना चालकले चलाएका म्याजिक दुर्घटना भयो । सवारी दुर्घटना न्यूनीकरण गर्न चितवनमा प्रहरी साझेदारी कार्यक्रममार्फत् ट्राफिक प्रहरीले बिभिन्न कार्यक्रम गर्दै आएको छ । शारीरिक मानसिक कारणले गर्दा समेत सवारी दुर्घटना बढेको तथ्याङ्क रहेको छ ।

७५ जना चालकले गराएका स्वास्थ्य परीक्षणमा अधिकांश चालकलाई उच्च रक्तचाप रहेको पाइएको मौलाकालिका अस्पतालका डाक्टर मनोज घिमिरेले जानकारी दिए ।

प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत म असल चालक, दुर्घटना न्यूनीकरणका लागि सचेतना मुलक होडिङ बोर्ड, बिभिन्न स्थामा ट्राफिक चिन्ह, जेब्रा क्रसिङको प्रयोग, बिद्यालयमा ट्राफिक प्रहरी प्रशिक्षण लगाएतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV