कामबाट निकालेपछि आरती स्ट्रीपका मजदुरहरु आन्दोलित
- तारा आचार्य
विराटनगर २१ पुस। मोरङको बुढीगङ्गा गाउँपालिका १ मा रहेको आरती स्ट्रीप प्रालिले कामबाट निकालेका मजदुर आन्दोलित भएका छन् ।भारतीय लगानीमा संचालित उद्योगले कामदार निकालेपछि पुस १२ गते मजदुरहरु क्षतिपूर्तिसहित काम दिलाइपाउँ भन्दै श्रम कार्यालय विराटनगर पुगेका थिए । पुस १२ मा नै श्रम कार्यालयले कामदारलाई पुनर्बहाली गर्न उद्योगलाई पत्र काटेको थियो । तर उद्योगले श्रमको पत्रको अवज्ञा गर्दै प्रवेश गर्न नदिएपछि मजदुरहरु आरती स्ट्रिप अगाडि धर्ना बसेका छन् ।
पटक–पटक गरेर उद्योगले एक सय ८४ जना कामदारलाई विनाजानकारी कामबाट निकालेको भन्दै उनीहरुले आन्दोलन गरिरहेका छन् । नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा आबद्ध भएको आधारमा उद्योगले कामबाट निस्कासन गरेको उनीहरुले बताएका छन् ।
७ वर्षदेखि काम गर्दै आएका मजदुरहरुले लकडाउनको बेलामा समेत उधोगले काम लगाएको र अब कानूनी प्रक्रिया अनुसार सेवा सुविधा दिनुपर्ने वाध्यता भएकोले कामबाट हटाएको आरोप लगाएका छन् । कामदारलाई नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा आबद्ध भएकै आधारमा उद्योगले कामबाट निस्कासन गर्न नपाउने र उनीहरुलाई पुनर्बहाली गर्नु पर्ने मजदुर नेताहरुले माग गरेका छन् ।
सरकारले तोकेको न्यूनतम ज्याला समेत उद्योगले नदिएको मजदुरहरुले बताएका छन् । २०७४ भदौ १९ गतेदेखि जारी भएको कानून उद्योगले अहिलेसम्म पनि लागू नगरेकाले कानूनको सहारा लिनु परेको उनीहरुले गुनासो गरेका छन् । उद्योगले भित्र प्रवेश गर्न नदिएपछि उनीहरु उद्योग गेटमा धर्ना बसिरहेका छन् ।