सिरी ए : युभेन्टस बेनेभेन्टोसँग बराबरीमा रोकियो



प्रकाशित मिति : Nov 29, 2020

एजेन्स, १४ मंसिर । इटालियन ‘सिरी ए’मा साविक विजेता युभेन्टस बेनेभेन्टोसँग बाराबरीमा राेकिएकाे छ ।

गएराति बेनेभेन्टोकाे मैदानमा भएकाे खेलमा युभेन्टस १-१ को बराबरीमा राेकिएकाे हाे । युभेन्टसले सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई भने विश्राम दिएको थियाे ।

खेलको २१ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा नै कप्तान पाउलो डिबालाले अग्रता दोब्बर पार्ने अवसर चुकाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा बेनेभेन्टोले खेल बराबरीमा ल्यायो । मिडफिल्डर आर्थरले राम्रोसँग क्लियर गर्न नसकेको बललाई गातानो लेतिजियाले भली प्रहार गर्दै गोल गरेका थिए ।

खेलको अधिकांश समय युभेन्टसले बल पोसेसन राख्दै आक्रमण बुनेपनि बेनेभेन्टोको डिफेन्स तोड्न सकेन । खेलको अन्त्यतिर डिबालाले गोल गर्न सुवर्ण अवसर खेर फालेपछि युभेन्टस जित दर्ता गर्नबाट बन्चित भयो । खेल सकिएपछि फरवार्ड मोराटाले रेफ्रीलाई दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

यस बराबरीले युभेन्टस अंक तालिकामा पाँचौ स्थानमा रहेको छ । अपराजित रहेपनि युभेन्टसले ९ मध्य ५ खेलमा बराबरी गर्दै १७ अंक जोडेको छ । १२ औं स्थानमा रहेको बेनेभेन्टोको ९ खेलमा १० अंक छ । शीर्षस्थानको एसी मिलानको ८ खेलमा २० अंक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com