सरकारद्वारा सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान, तीन जना सचिवमा बढुवा



प्रकाशित मिति : Nov 25, 2020

काठमाडौं, १० मंसिर । सरकारले विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको हो ।

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका लागि स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्नुभएको थियो ।

सरकारले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई मापन सम्पन्न गरेको र घोषणा गर्ने चरणमा आएपछि सगरमाथाको नयाँ उचाई औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

मन्त्री अर्यालका अनुसार मन्त्रिपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ । सन् १९५४ देखि हालसम्म सगरमाथाको उचाई ८८४८ मिटर छ ।

तीन जना सचिवमा बढुवा

यसैबीच आजकै मन्त्रिपरिषद् बैठकले तीन जनालाई सचिवमा ढुवा गरेको छ । जानकारी अनुसार सरकारले गोकर्ण दवाडी, योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो ।

भारत र बंगलादेशको उडान खुला गर्ने निर्णय

त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले भारत र बंगलादेशको उडान खुला गर्ने निर्णय गरेको छ । उक्त देशमा हवाई उडान, जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै उडान खोल्ने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com