नेपाल भारत सम्बन्ध सुधारको अर्थ : के कालापानीमा नेपाली सेना बस्न पाउला ? (भिडियो)



प्रकाशित मिति : Nov 25, 2020

काठमाडौं, १० मंसिर । नेपाली भूमि कालापानीमा भारतीय सेनाले परेड खेल्छ । आफ्नो भूमि अर्काको सेनाले परेड खेलेको टुलुटुलु हेर्न विवश नेपालीलाई केही भएपनि अहिले राहत भएको छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नियन्त्रणमा लिएको निकै वर्षपछि नेपालले ‘हाम्रो भूमि फिर्ता गर’ भन्न सकेको छ । भारतले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपाली भूमि पनि समावेश गरेपछि नेपाली पक्ष असन्तुष्ट बनेको थियो ।

गत वर्ष कात्तिकदेखि तीव्र बनेको भूमि विवाद विस्तारै साम्य हुने आशा गर्न थालिएको छ । भारतीय विदेश सचिवको नेपाल भ्रमणमा अनौपचारिक नै भएपनि यो विषय प्रवेश गराउने सरकारी तयारी रहेको छ । कालापानी छाड्न भारत केही लचिलो बनेको संकेतहरु देखा परेको छ ।

भारतीय सेना, सीमा सुरक्षा बल (एसएसबी) लगायतका भारतीय सुरक्षाकर्मी यतिवेला नेपाली भूमि कालापानीमा तैनाथ छन् । हरेक दिन भारतीय सेनाको परेडले नेपालीको मन क्षत–विक्षत बनाइरहेको छ ।

वर डाँडाबाट टुलुटुलु हेर्दै मन अमिलो पार्नुपर्ने नियती बर्षौदेखि नेपालीले भोग्दै आउनुपरेको छ । तर, सरकारले आफ्नो भूमि फिर्ता ल्याउन पहल गरेको बताइरहेको छ । केही दिनअघि एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हट्ने दाबी गरेका छन् ।

प्रधानमन्त्रीको यो दाबी संयोग मात्र हो वा सच्चिकै प्रयासहरु भइरहेका छन् त रु हरेक नेपालीको मनमा यो प्रश्न उठ्न थालेको छ । बिहीबारबाट दुईदिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला छन् ।

यो भ्रमणमा औपचारिकरुपमै कालापानीबारे कुरा उठाइने त छैन तर, अनौपचारिकरुपमा भारतले छलफल गर्न चाहेको कुटनीतिक स्रोतहरु बताउँछन् ।

एकै पटक यो भ्रमणमै कालापानी समस्या उठ्न लागेको होइन, यसअघि भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ्स (रअ)का प्रमुख सामन्त गोयल, भारतीय स्थल सेनाका प्रमुख मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणमा पनि अनौपचारिक कुराकानी भएका छन् ।

सारसंक्षेपमा भारत आफ्नो सेना कालापानीबाट हटाउन केही लचिलो भएको चर्चा कुटनीतिक र सैन्य क्षेत्रमा हुन थालेको छ । नेपाल, भारत र चीनको सीमा क्षेत्र पर्ने कालापानीमा नेपाली सेनाको तालिम केन्द्र स्थापना गर्न सकिनेसम्मका विषयहरु छलफलका रुपमा उठ्न थालेका छन् ।

यसमा चीनले पनि समर्थन जनाएको बुझाइ जानकारहरुको रहेको छ । त्यसैले पनि हर्षवद्र्धनको भ्रमणको ४८ घण्टा नवित्दै एक दिनका लागि चिनियाँ स्टेट काउन्सिलर समेत रहेका रक्षा मन्त्री वे फेइहङ पनि आउँने चर्चा रहेको छ ।

नेपाली सेनाको तालिम केन्द्र कालापानीमा रहे, चीन र भारत दुबै पक्षलाई सहज हुने निष्कर्ष सहित छलफलहरु यही पेरिफेरिमा सुरु हुन थालेको स्रोत बताउँछ । यद्दपि यो विषय ठोस रुपमा प्रवेश गराइएको छैन ।

कुटनीतिक र कुटनीतिका विभिन्न च्यानलहरुबाट कालापानीमा नेपाली सेनाको तालिम केन्द्र बनाउन सकिने गरी तीन देश नेपाल, भारत र चीनबीच अनौपचारिक कुराकानीहरु प्रवेश गराइएको छ ।

यिनै आधारहरुमा छलफलले ठोस रुप लिन सके नेपालले वर्षौदेखि गुमाएको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता पाउन निकै सहज हुनेछ । त्यसका लागि नेपालले यही विषयमा छलफलहरुलाई तीव्रता दिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com