दाङका अबैध १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन



प्रकाशित मिति : Nov 22, 2020
  • सुरेश श्रेष्ठ,

दाङ, ७ मंसिर । सरकारले दाङका १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङ र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा १० वटा क्रसर उद्योगलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो ।

बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर, क्रसर उद्योग नै सञ्चालन गरेको पाइएपछि उक्त १० उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी गृह मन्त्रालयले कात्तिक २५ गते जारी गरेको परिपत्र अनुसार अनुगमन गरी उद्योगहरुको अवस्थाका बारेमा जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले १२ वटा क्रसर उद्योग दर्ता भएका मध्य १० वटा सञ्चालनमा रहेका र सबै बैधानिक ढंगले सञ्चालन भएका जानकारी दिए । त्यसैगरी, ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएको र ६ वटा बन्द भएको पाइएको छ ।

जसमध्ये २६ वटा सञ्चालनमा रहेकामा १० वटाले क्रसर उद्योग समेत चलाएको पाइएको हो । बन्द गर्न निर्देशन दिइएका उद्योगहरुमा स्वर्गद्वारी स्किृनप्लान्ट प्रा.लि., जनविश्वास बालुवा बासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डबेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग रहेका छन् ।

१५ दिनभित्र उक्त उद्योगहरुलाई बन्द गर्न निर्देशन दिइएको र अटेर गरेमा राज्यका सेवा सुविधा कटौतीसँगै दर्ता खारेजसम्म गर्ने चेतावनी दिइएको छ । पत्रकार सम्मेलनमा क्रसर व्यवसायी महासंघका अध्यक्ष मिनबहादुर शाहीले आफूहरु राज्यको नीति नियम अनुसार चल्न प्रतिबद्ध रहेको बताए ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com