राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा २२ दलको प्रदर्शन (तस्वीर)



प्रकाशित मिति : Nov 22, 2020

काठमाडौं, ७ मंसिर । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा नेकपा (मसाल)लगायतका २२ राजनीतिक दल तथा संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् ।

आइतबार (आज) केन्द्रीय राजधानी काठमाडौंलगायत देशभरका विभिन्न स्थानमा गरिएको विरोध प्रदर्शनमा अमेरिकी संस्था एमसीसी र नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौता खारेजीको माग गरिएको छ ।

त्यस्तै, उनीहरुले भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्पिधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुरलगायतका भू–भागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशूल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायतका न्यूनतम सुविधा उपलब्ध गराउन पनि माग गरेका छन् ।

यसका साथै रोजगारीको व्यवस्था, निःशूल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउन पनि माग गरेका छन् । प्रदर्शनकारीहरूले भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर, अमेरिकी साम्राज्यवाद मूर्दाबाद, भारतीय विस्तारवाद मुर्दाबाद, नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर, शिक्षा र स्वास्थ्य पूर्ण रूपमा राष्ट्रियकरण गरी निःशूल्क र सर्वसुलभ गर’लगायतका नारा लगाएका थिए ।

उक्त विरोध प्रदर्शनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी, माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेभिक), राष्ट्रवादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च नेपाललगायतले सहभागी जनाएका थिए ।

    


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com