जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सकलाई संक्रमण, सिल गरियो अस्पताल



प्रकाशित मिति : Nov 22, 2020
  • जनकबहादुर शाही,

हुम्ला, ७ मंसिर । जिल्ला अस्पताल हुम्लामा कार्यरत एकजना चिकित्सकलाई कोरोना संक्रमण भएपछि सबै सेवा बन्द गर्ने गरी अस्पताल सिल गरिएको छ ।

अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई समेत कोरोना संकमण देखिएपछि अस्पताल प्रशासनले सूचना टाँसेर अस्पताल सिल गरिएको जनाएको हो ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण हुन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरी अस्पताल सिल गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

पछिल्लो समय हुम्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएसँगै गत कात्तिकको दोस्रो साताबाट सञ्चालन गरिएका जिल्लाका सबै बिद्यालय पुनः बन्द भएका छन् ।

केही दिनअघि हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउपालिकाको केन्द्रमा रहेको माहाबौद्ध माध्यामिक विद्यालयमा अध्ययनरत ५१ जना बिद्यार्थी र अन्य ५ जना गरी ५६ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, आइतबार (आज) जिल्ला अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई कोभिड १९ पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com