११ वटा न्यून गुणस्तरका खाद्य वस्तु उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर



प्रकाशित मिति : Nov 22, 2020
  • तारा आचार्य

विराटनगर, ७ मंसिर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको पहिलो चौमासिक समिक्षा कार्यक्रममा कोरोना महामारीबीच पनि प्रभावकारी रुपमा बजार अनुगमन गर्ने कार्य गरिएको जानकारी दिएको छ ।पहिलो चौमासिकमा प्रदेश नं. १ का ४ वटा डिभिजन कार्यालयहरु र विराटनगर प्रयोगशालाले गरेको बजार अनुगमन र स्याम्पल परीक्षणका क्रममा १ सय २१ वटा वस्तुहरुकोे प्रयोगशाला परीक्षण गर्दा ११ वटा वस्तुमा न्यून गुणस्तर पाएको सार्वजनिक गरेको छ ।कोरोना महामारीबीच पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आर्थिक वर्ष ०७७/७८ को पहिलो चौमासिकमा ११ वटा न्यून गुणस्तरका वस्तु उत्पादन गर्ने उद्योगहरुलाई मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।
सबैभन्दा बढी पिउने पानी, घिउ र कुखुराको दानाहरु कमसल भेटिएकाले मुद्दा प्रक्रिया शुरु भईसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो । पर्याप्त जनशक्ति नभएको अवस्थामा पनि अनुगमन कार्य गरी खाद्य स्वच्छता र गुणस्तरमा ध्यान दिन निर्देशन दिइएको प्रमुख राजकुमार रिजालले बताउनु भयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रदेश नं. १ मा धनकुटा, उदयपुर, झापा, सुनसरीमा डिभिजन कार्यालय रहेको छ भने विराटनगरमा प्रदेशस्तरीय प्रयोगशाला रहेको छ । सो समिक्षा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, नापतौल कार्यालय, घरेलु कार्यालयका साथै उपभोक्ता संघ संगठनका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com