विराटनगरमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक बोरा पेटी बरामद, एक पक्राउ



प्रकाशित मिति : Nov 22, 2020
  • तारा आचार्य

विराटनगर, ७ मंसिर । भारतको जोगवनीबाट अबैधरुपा तस्करी गरेर ल्याइएको सामान नियन्त्रणमा लिन प्रहरीले विराटनगर– १७ मटेरुवामा आइतबार बिहान हवाई फायर गरेको छ भने एक जनालाई नियन्त्रणमा लिएको छ ।

हवाई फायर गरेर भारतदेखि तस्करी गरि ल्याएको एक बोरा बेल्ट (पेटी) र तस्करीमा संलग्न विराटनगरकी ३३ वर्षीय रविना खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर अवस्था तनावपूर्ण भएक पछि हवाई फायर गरेको सुरक्षाकर्मीले जनाएको छ ।

दुई जना सादा पोशाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करको समूहले अवरोध पुर्याएपछि एक राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

तस्करीको सामान ल्याएको जानकारी आएपछि सादा पोशाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि जाइलागेपछि एक राउण्ड हवाई फायर गरेको एसपी खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकी महिलाविरुद्ध कारबाही अघि बढाउन थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । फरार भएकाहरूको पनि प्रहरीले खोजी कार्य तीव्र बनाएको जनाएको छ । प्रहरी र तस्कर समूहबीच भएको दोहोरो घम्साघम्सीका क्रममा एक जना प्रहरी जवानको हातको औंलामा चोट लागेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com