खोटाङमा मिनिल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना



प्रकाशित मिति : Nov 22, 2020
  • सन्तोश पौडेल

खोटाङ, ७ मंसिर । खोटाङमा पहिलोपटक डिजिटल सोयल टेस्टिङ मिनिल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गरिएको छ । नगरपालिकाको करिव चार लाख ९६ हजारको लागतमा प्रयोगशालाको स्थापना गरिएको हो ।

शनिबार एक कार्यक्रमको आयोजना गरि सोल्मास्थित प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, नगरउपप्रमुख विणादेवी राईले रिवन काटी डिजिटल सोयल टेस्टिङ मिनि ल्याबसहितको आधुनिक कृषि तथा पशु प्रयोगशाला स्थापना गर्नुभएको हो ।

ल्याब स्थापना भएपछि महिना दिनसम्म लगाएर खोटाङबाट सुनसरीको झुम्का प्रयोगशालामा लगेर माटो परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ ।

माटोमा रहेका १४ वटा तत्वहरु प्राङ्गरीक पदार्थको मात्र एकिन गर्न सकिने साथै परिक्षण गरिएको रिपोर्ट ४८ घन्टामै आउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषि शाखा प्रमुख धर्मेन्द्र कलौनीले बताउनुभयो। पशु क्षेत्रतर्फ कृतिम गर्वधारण, पशुपञ्क्षीको स्वास्थ्य परीक्षण लगायतका काम ल्याबबाट प्रवाह हुने भएको नगरप्रमुख रिजालले बताउनुभयो ।

माटो परिक्षण गरिको आधारमा कार्ड समेत वितरण गरिने नगरउपप्रमुख राईले बताउनुभयो । प्रयोगशालाको स्थापना भएपछी माटो परिक्षण गर्नकालागी बाहिर जानुपर्ने बाध्यता हटेपछी किशान हर्षित भएका छन्।

नगरपालिकाले शनिबार नगरभित्रका १५ वटै वडा कार्यालयलाई चार लाख बराबरको माटो परीक्षण गर्नका लागि विभिन्न किसिमका उपकरहरुण हस्तान्तरण गरेको हो ।

यसैबीच ,खोटाङमा च्याउ उत्पादक कृषकलाई बीउ वितरण गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा -२ सोल्माका कृषकलाई च्याउको बीउ वितरण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल कृषि सेवा विकास कार्यक्रम प्रयास, हेल्भिटास नेपालको सहयोगमा कृषकलाई च्याउको बीउ वितरण गरिएको हो ।

नगरपालिकाले सोल्माका ७० जना च्याउ उत्पादक किशानलाई १२० केजि कन्या नाम गरेको च्याउको बीउ निशुल्क वितरण गरि आबश्यक पर्ने तालिम दिईएको प्रमुख कलौलिले बताउनुभयो । यो च्याउ २८ दिनमै उत्पादन गर्न सकिने छ ।

छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले कृषकलाई च्याउ उत्पादन गर्न नगरपालिकाले बीउ वितरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com