हुम्ला फुटबल ऐकेडेमीको अध्यक्षमा रावत चयन



प्रकाशित मिति : Nov 22, 2020
  • जनकबहादुर शाही

हुम्ला, ७ मंसिर । फुटबल क्षेत्रको विकास गर्ने लक्षका साथ दर्ता भएको हुम्ला फुटबल एकेडेमीको अध्यक्षमा सिमकोट गाउँपालिका वडा नम्बर ५ निवासी विष्णु रावत अध्यक्ष चयन हुनुभएको छ ।

कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको ऐकेडेमीले फुटबल क्षेत्रको विकास हुन नसकेको साविकको कर्णालीका सबै जिल्लाका खेलाडीलाई समेट्नेछ । हुम्ला फुटबल एकेडेमी संचालन गर्नका लागि रावतको अध्यक्षतामा चार सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको अध्यक्षमा विष्णु रावत, उपाध्यक्षमा प्रिती रावत, सचिवमा बुद्धि रोकाया र सदस्यमा रबिन कुमार बस्नेत छनौट भएका छन् ।

एकेडेमीलाई जीवन्त राख्नका लागि जिल्लामा फुटबल क्षेत्रको विकासमा योगदान पुर्याउने व्यक्तिलाई समेटिने अध्यक्ष रावतले बताए । हुम्ला लगायत कर्णालीका पाँचवटै जिल्लामा फुटबलको विकास र प्रवर्द्धन गर्नुका साथै फुटबल खेल्न ईच्छुक जोकोहीका लागि ट्रेनिङ सेन्टर सञ्चालन गर्ने यसको मुख्य उद्देश्य रहेको अध्यक्ष रावतले बताए । यसका लागि एन्फा अध्यक्षसँग मौखिक सहमति भइसकेको र अबको केही दिनमा लिखित सहमति गरेर काम अगाडि बढाउने तयारी भई रहेको उनको भनाई छ ।

फुटबल एकेडेमीको दर्ता संगै अखिल नेपाल फुटबल संघ गठनको बाटो पनि खुलेको छ । यसअघि साविक कर्णालीमा जुम्ला र कालिकोटमा संघ गठन भई सकेको र अब हुम्ला, मुगु र डोल्पामा पनि संघ गठन प्रकृया अगाडी बढ्ने भएको रावतले बताए । रावतले लामो समयदेखि कर्णालीको फुटबल क्षेत्रको बिकासमा योगदान पुर्याउँदै आउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com