म्यानचेस्टर सिटीलाई पराजित गर्दै टोटनहम शीर्ष स्थानमा उक्लियाे



प्रकाशित मिति : Nov 22, 2020

एजेन्सी, ७ मंसिर । टोटनहम प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्दै टोटनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनहमको जितका लागि हिउङ मिन सन र गोभानी लो सेल्सोले एक एक गोल गरे । पहिलो हाफमा १० को अग्रता लिएको टोटनहमले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।

टोटनहमले खेलको पाँचाैँ मिनेटमा खेलमा अग्रता लिएको थियो । सनले एनडेम्बेलेको पासमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका हुन् । त्यस्तै १३ औं मिनेटमा सनको पासमा ह्यारी केनले गोल गरेका थिए । तर, रेफ्रीले अफसाइड दिएपछि टोटनहम अग्रता दोब्बर गर्नबाट चुकेको थियो ।

२८ औं मिनेटमा सिटीले बराबरी गोल फर्काएको थियो । गाब्रिअल जेससको पासमा लापोर्टेले गोल गरेका थिए । तर, जेससले बललाई नियन्त्रणमा लिँदा भीआरको सहायतामा रेफ्रीले ह्यान्ड भएकोभन्दै गोललाई मान्यता नदिँदा सिटी बराबरी गोल गर्नबाट चुकेको हो ।

दोस्रो हाफमा टोटनहमका लागि सेल्सोले गोल गरे । सब्सिच्युट खेलाडी सेल्सोले मैदान छिरेको एक मिनेट नबत्दिै गोल गरेका हुन् । उनले खेलको ६५ औं मिनेटमा केनको पासमा गोल गर्दै टोटनहमलाई २-० को जित दिलाए ।

जितसँगै टोटनहमले २० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ९ खेल खेलको टोटनहमले ६ जित, दुई बराबरी र एक खेलमा हारसहित २० अंक जोडेको हो । यता, ८ खेल खेलेको पराजित सिटीको भने १२ अंक छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com