सुदूरपश्चिम प्रदेशमा ६४ जना नयाँ सङ्क्रमित थपिए



प्रकाशित मिति : Nov 21, 2020

सुदूरपश्चिम, ६ मंसिर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका शङ्कास्पद ५२५ व्यक्तिको नमूना परीक्षण गरिएकामा ६४ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ थपिने कोरोना सङ्क्रमितमा कैलाली, कञ्चनपुर, अछाम, बझाङ, डडेलधुरा र बाजुराका छन् । नयाँ थपिएका समेत गरी आजसम्म प्रदेशमा १० हजार ७३१ सङ्क्रमित पुगेका छन् ।

पछिल्ला दिनमा प्रदेशमा कोरोना भाइरसबाट हुने मृत्युदर बढ्दै गएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कात्तिक २९ गते यता थप सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

आजसम्म कैलालीमा १९, कञ्चनपुरमा चार, बझाङमा तीन, अछाम, बाजुरा, डडेलधुरा, दार्चुलामा दुई/दुई तथा डोटी र बैतडीमा एक÷एकसमेत जम्मा ३६ जनाको मृत्यु भएको छ ।

शुक्रबार मात्रै कैलालीका एक ५६ वर्षीय पुरुष र एक ७५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सात जनाको सघन उपचारकक्ष (आईसीयू)मा र दुई जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ ।

प्रदेशमा कोरोना भाइरसको उपचार व्यवस्थापनपछि अहिलेसम्म आठ हजार ८७५ डिस्चार्ज भएका छन् । तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com