‘जिरी ओपन फिडे रेटिङ चेस’को उपाधि बद्रीलाल नेपालीलाई



प्रकाशित मिति : Nov 21, 2020

चरिकोट, ६ मंसिर । दोलखालको जिरीमा आयोजना गरेको ‘जिरी ओपन फिडे रेटिङ चेस’ प्रतियोगिताको उपाधि तीन पटकका राष्ट्रिय उपाधि विजेता बद्रीलाल नेपालीले हात पारेका छन् ।युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा पर्यटकीय नगरी जिरीमा आज सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जनमाथि जीत हात पार्दैै नेपालीले उपाधि प्राप्त गरेका हुन् ।

सात खेलमा ६ मा जीत तथा एक बराबरी गरी कूल छ दशमलव पाँच अङ्क बनाएका नेपालीले उपाधिसँगै नगद रु १० हजार प्राप्त गरेका छन् । छैटौँ चरणको खेलमा दोलखाका राजीव कार्कीमाथि सहज जीत निकालेका आशिष फुयाँल सात खेलबाट छ अङ्कका साथ प्रतियोगितामा दोस्रो हुन सफल हुनका साथै रु पाँच हजार प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहन सफल युवराज पौडेलले रु तीन हजार प्राप्त गरेका छन् ।

ललितपुरका हिराकाजी महर्जनले भेट्रानतर्फ पहिलो पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै रौतहटका रामचन्द्र दाहाल तथा दोलखाका बाबुराजा महर्जन भेट्रानतर्फ दोस्रो तथा तेस्रो हुन सफल भए । दोलखाका केन्द्रज्योति खड्काले सात खेलबाट चार दशमलव पाँच अङ्कका साथ स्थानीयतर्फ प्रथम हुँदै रु पाँच हजार प्राप्त गरेका छन् ।

फिडेको स्विस लिग प्रणालीअन्तर्गत सात चरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ४२ खेलाडीको सहभागिता थियो । कोभिड–१९ को महामारीपछि नेपालमा पहिलोपटक आयोजित फिडे रेटिङ प्रतियोगिताले उत्साहित बनाएको र आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि बाटो खुलेको जिरी नगरपालिकाका प्रमुख टङ्कबहादुर जिरेलले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com