नेपालगन्ज म्याराथन : पुरुष र महिला दुवैतर्फ एपीएफको वर्चश्व (तस्वीर)



प्रकाशित मिति : Nov 21, 2020
  • कृष्ण खनाल/भगतराम थारु,

नेपालगन्ज, ६ मंसिर । ‘नेपालगञ्ज म्याराथन’मा एपीएफको बर्चश्व भएको छ । फुल म्याराथन दौड र हाफ म्याराथन दौडमा एपीएफ कै बर्चश्व रहेको छ ।

फुल म्याराथन दौड प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बलका गोपी पार्की र महिलातर्फ पनि सशस्त्र प्रहरी बलकै पुष्पा भण्डारी प्रथम भएका छन् । पुरुषतर्फ फुल म्याराथन दौडमा गोपीले २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेका छन् ।

त्यस्तै, महिलातर्फ हाफ म्याराथन दौडमा एपीएफकै पुष्पाले १ घण्टा २६ मिनेट ५४ सेकेण्डमा पूरा गरेकी छन् । त्यसैगरी पुरुष म्याराथनतर्फ नेपाली सेनाका कृष्ण बस्नेत र खगेन्द्र भाट दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः २ घण्टा २० मिनेट ५ सेकेण्डमा र २ घण्टा २७ मिनेट २८ सेकेण्डमा निर्धारित म्याराथन पूरा गरे ।

यता महिलातर्फ दोस्रो मञ्जु रावत १ घण्टा ३० मिनेट ६ सेकेण्डमा र तेस्रोमा प्रमिला घर्तीले १ घण्टा ३८ मिनेट ३४ सेकेण्डमा हाफ म्याराथनको लक्ष्म पूरा गरे ।

क्रियटिभ ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथन दौडको छैठौं संस्करण हो । बर्षेनी आयोजना हुदै आएको नेपालगञ्ज म्याराथन प्रतियोगिता शनिवार नेपालगञ्जमा सम्पन्न भएको हो ।

यस पटकको नेपालगञ्ज म्याराथनको उपाधि जित्ने खेलाडीले ओलम्पिकमा खेल्न पाउने निश्चित भएको एथलेटिकस संघले जनाएको छ । यसपटक हुने ओलम्पिक खेलमा नेपालगन्जमा भएको फुल म्याराथन दौडका प्रथम खेलाडी गोपी पार्र्कीले पाउने पक्का भएको छ ।

यस पटकको म्याराथनका प्रथम विजेताले ७५ हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार, चौथोले १०, पाँचौंले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ नगदसहित प्रमाण पत्र पाएका छन् ।

यस्तै महिला हाफ म्याराथनको विजेताले ३० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै चौथोलाई ७ हजार, पाँचौंलाई ६ हजार र छैटौं हुनेलाई ५ हजार रुपैयाँ नगद चेक प्रदान गरिएको छ ।

नेपालगन्ज म्याराथन दौडका लागि नेपालगन्ज कोहलपुर सडक–खण्ड खाली गराइएको थियो । प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, राष्टिय तथा ओलम्पियन खेलाडी, पत्रकारलगायतले पुरस्कार वितरण गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com