दक्ष जनशक्तिको अभावमा एक करोडकाे भेन्टीलेटर थन्कियो



प्रकाशित मिति : Nov 20, 2020
  • अभिमन्यु लामिछाने

उदयपुर,५ मंसिर । जिल्ला अस्पताल उदयपुरमा दक्ष जनशक्ति नहुदाँ अस्पतालमा भएका उपकरणहरु पनि संचालनमा आउन सकेका छैनन् ।

जिल्ला अस्पताल उदयपुरमा रहेका दुई भेन्टिलेटर सहित ५ शैयाको आइसियु कक्ष भएपनि प्रयोगविहिन भएको छ । गत आर्थिक वर्षमा संघीय सरकारको कुल एक करोडमा जडान गरेका उपकरणहरु प्रयोगविहिन भएको छ ।

उदयपुर, खोटाङ लगायत जिल्लाका सर्वसाधरणहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले ५० शैयामा लगिएको जिल्ला अस्पतालमा सुविधा सम्पन्न भवन, अस्पतालका लागि आवश्यक उपकरणहरु हुदाँ समेत दक्ष जनशक्तिको अभावले सर्वसाधरण मारमा परेका छन् ।

अस्पतालमा रहेका उपकरण प्रयोगविहिन भएपछि भेन्टिलेट र आइसीयू मा राखेर उपचार गराउन पर्ने विरामीहरु धरान, विराटनगर काठमाडौं लगायतका ठूला अस्पतालहरुमा जान बाध्य भएका छन । आइसीयु र भेन्टीलेटरको अभावका कतिपयको ज्यान समेत गएको छ ।

अस्पतालमा आइसियु र भेन्टीलेटर जडान गरिएको भएपनि संचालनका लागि चाहिने विषेशज्ञ चिकित्सक, एमडी ऐनेसथेसीया, स्टाप नर्स, लगायतको जनशक्ति प्रदेश सरकारले हालसम्म नपठाएको कारण संचालनमा आउन नसकेको जिल्ला अस्पताल उदयपुरका मेडिकल सुपरिटेंडेन डाक्टर जिब नारायण मण्डलले बताए।

विश्व  माहारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का गम्भीर प्रकृतिका संक्रमित विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय भेन्टीलेर र आइसियुको माग बढी रहेको समयमा जिल्ला अस्पतालमा जडान गरिएको उपकरणहरु प्रयोग नहुदाँ जिल्लामा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

स्थानीयले पटक पटक गरेको आग्रह बमोजिम जिल्ला अस्पतालमा भेन्टीलेर र आइसियु जडान गरिएपनि संचालनका लागी अस्पताल व्यवस्थापन समिति र जनप्रतिनिधिहरुले चासो नदेखाएका कारण सरकारले जनशक्ति पठाउन आनकानी गरेको स्थानीयको भनाइ छ ।

यता जिल्ला अस्पताल संचालन तथा व्यवस्थापन समितिले प्रदेश सरकारसँग पहल गरिरहेको बताएको छ । समितिले उपकरण चलाउनका लागि चाहिने दक्ष जनशक्तिका लागि प्रदेश सरकारसंग माग गरी रहेको अस्पताल संचालन व्यवस्थापन सदस्य महेश रोक्का बताउँछन् ।

गम्भिर प्रकृतिका विरामीहरु र हाल कोरोना भाइरसको माहामारीका कारण कतिपय विरामीहरुले भेन्टिलेटर र आइसीयुको अभावमा ज्यान गुमाइरहेका छन् । सरकारले भेन्टिलेटर र आइसीयु व्यवस्थापनका लागि पहल गरी रहेको छ भने कति पय स्थानहरुमा धमाधम भेन्टिलेटर र आइसीयु जडान हुँदै आएका छन् । जसका लागि सहयोग समेत जुट्दे आएको छ ।

तर सरकारले नै लगानी गरी जडान गरिएका भेन्टिलेटर र आइसीयु संचालनका लागि आवस्यक जनशक्ति नपठाइदा उदयपुर अस्पतालमा जडान गरीएका उपकरणहरु प्रयोग बिहिन बनेको अस्पताल व्यवस्थापन समिति सदस्य रोक्काले बताए ।

उदयपुर अस्पतालमा जडान गरिएका उपकरणहरु संचालनका लागि सरकारले जनशक्ति तत्काल पठाउने हो भने भेन्टिलेटर र आइसीयुको अभावका ज्यान गुमाउनु परेकाहरुलाई सहज हुने देखिन्छ । त्यसका लागि सरकारले तत्काल जनशक्ति पठाउन कन्जुसाई गर्न नहुने आम जिल्ला बासिको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com