शक्ति र पदकै वरिपरि घुम्दै नेकपा विवाद, बुधबारको बैठक अन्योलमा ! (भिडियो)



प्रकाशित मिति : Nov 17, 2020

काठमाडौं, २ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधान हुने संकेत देखापरेको छैन । नेताहरु गुटगत छलफलमै व्यस्त छन् ।

वालुवाटारमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आफू निकटकाहरुसँग रणनीति बनाउन व्यस्त छन् भने खुमलटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू निकटसँग रणनीति बनाउन छलफलमा जुटेका छन् ।

बुधबारका लागि तोकिएको सचिवालय बैठक नै अन्योलमा राखेर अध्यक्षद्वय गुटकै छलफलमा व्यस्त छन् । महासचिव विष्णु पौडेलले बैठक स्थगित गर्नुपर्ने ओलीको सन्देश अध्यक्ष प्रचण्डसम्म पु¥याए ।

तर, प्रचण्ड समूह बैठक बस्नै पर्ने अडानमा छ भने ओली पक्ष स्थगित गर्ने पक्षमा । अध्यक्ष प्रचण्डको एकल राजनीतिक प्रस्ताव पेश भएपछि स्थगित भएको नेकपा सचिवालयको बैठक भोलि बस्ला कि नबस्ला टुंगो छैन ।

ओलीको संकट निम्त्याएको निष्कर्ष सहित तयार प्रस्तावलाई ओली समूहले अस्वीकार गरेको छ । तर, यो प्रस्ताव प्रचण्डको मात्र नभएर आफूहरुको पनि भएको वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

यो सचिवालयको बहुमत सदस्यले आफूहरुको प्रस्ताव भएको बताएपछि त्यो विषयमा ‘फेस’ नगर्ने अध्यक्ष ओलीको तयारी रहेको बुझिएको छ । अध्यक्ष ओलीले महासचिव विष्णु पौडेललाई खुमलटार पठाएर पहिले विवाद समाधन त्यसपछि बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन् ।

तर, प्रचण्ड सहितका बहुमत सदस्यहरुले बैठक सचिवालय बैठकले तय गरेकाले हुनुपर्ने अडान राखेको छ । यसबाट विवाद थप चर्किने संकेत देखापरेको छ ।

प्रचण्ड समूहः

नेकपा अध्यक्ष प्रचण्डले शुक्रबार बसेको सचिवालय बैठकले बुधबार अपरान्ह तीन बजेका लागि बैठक तय गरेकाले दुई अध्यक्षको छलफलले मात्र स्थगित नहुने सन्देश पौडेल मार्फत अध्यक्ष ओलीलाई पठाएका छन् ।

उनीसहित पाँच नेताहरु जसरी पनि बैठक बस्नुपर्छ, अध्यक्ष ओलीलाई लागेका आरोपको जवाफ दिनुपर्ने अडानमा छन् ।

प्रचण्ड पक्षले ओलीको पछिल्लो रणनीति हेरेर मात्र थप कदम चाल्ने तयारी गरेको छ । तर, प्रचण्ड निकट नेताहरुका अनुसार यो समूह तत्काल पार्टी फुटाउने पक्षमा छैन ।

ओली समूहः

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पनि निरन्तर छलफल जारी राखेका छन् । आफू विरुद्धको प्रस्तावलाई औपचारिकता नदिन ओली रणनीति बनाउन व्यस्त छन् ।

उनी निकट नेताहरुका अनुसार बुधबार बोलाइएको बैठक जसरी पनि स्थगित गराउने वा बैठक बसिहाले उपस्थिति नहुने ओलीको तयारी छ ।

ओलीको नजरमा प्रचण्डः

ओलीले प्रचण्ड ‘शक्ति’ हत्याउन जुनसुकै हतियार प्रयोग गर्ने सक्ने व्यक्तिका रुपमा चित्रित गरेको छ । ओली समूहको लगातारको छलफलले उनीलाई २०४१ सालमा तत्कालिन मसालको पाँचौं महाधिवेशनलाई दृष्टान्त बनाएको छ ।

आफू शक्तिमा आउन उनी जेपनि गर्न तयार हुन्छन् भन्ने ओली समूहको निष्कर्ष छ । २०४१ सालमा मसालको पाँचौ महाधिवेशनमा तत्कालिन महासचिव मोहनविक्रम सिंहको राजनीतिक प्रस्ताव पारित गराउन साथ दिएका प्रचण्डले त्यस लगतै सांस्कृतिक विचलनको आरोप लगाउँदै कारवाही गराएका थिए ।

यो प्रवृत्ति नभएर ‘रोग’ भएको ओली समूहको निष्कर्ष छ । अबका दिनमा ओली प्रचण्डसँग घाँटी नजोेड्ने पक्षमा उभिएको उनी निकट नेताहरु बताउँछन् ।

प्रचण्ड अहिले प्रधानमन्त्री वा शक्तिशाली अध्यक्षका रुपमा आफूलाई उभ्याउन प्रयासरत् रहेको ओली निकटको बुझाइ छ । समग्रतामा नेकपा विवाद पद र शक्तिकै वरिपरि घुमेको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com