१६ वर्ष अगाडि आजकै त्यो दिन, जेल भत्काएर बाहिर निस्किँदाकाे एक अपूर्व अनुभूति



प्रकाशित मिति : Nov 14, 2020
  • राजु क्षेत्री

 

वि.सं. २०६१ कार्तिक २९ गते,

गजुरी ब्यारेक ।

 

त्रिशुली किनार छुँदै आएको चिसो सिरेटोको झोक्काले ब्युँझायो । आँखामा बाधेको पट्टी अलिकति माथि सारेर झ्यालबाट बाहिर हेरे- धर्तीमा बिस्तारै मिर्मिरे उज्यालो झर्दै थियो । हामीलाई बन्दी बनाएर राखिएको घरभन्दा तल नदी सधैँ झैँ  एकनासले सुसाइरहेको छ । हाम्रो सामुन्नेको चौरतिर सेनाका जवानहरुको कल्याङमल्याङ सुनिन्छ ।

 

आज भाइटिकाको दिन ।

सेनाले आफै भाँचेर राखेको मेरो हात, त्यसैमाथि हत्कडी । हामी यसरी नै हातखुट्टा बाँधिएर- आँखामा पट्टीले ढाकिएर बसेको पूरा १३ महिना पुगेको दिन आज । २०६० कार्तिक १ गते सेनाले समातेदेखि  आजसम्म पट्टी खोलेर राम्रोसँग बाहिरको उज्यालो हेर्न पाएको पनि छैनौँ ।

 

चराहरुको चिर्बिर सुनिन थाल्छ । बिस्तारै उज्यालो हुन थाल्यो । त्रिशुलीपारि  छेउका पाखामा लागेको घाम सर्दै हामीलाई राखिएको ठाउँसम्म आयो । रातभर चिसोमा लडेको जीउले घामको किरणको तातो अनुभुति गर्न पायो । हुन त यसरी नै बितेर गैसकेका थिए पुरै १३ महिना । अब त यस्ता  दिनहरु सामान्य हुन थालिसकेका छन् ।

बन्दी हौँ- बिहान उठेर मुख धुने कुरा भएन । एकपटक उठेपछि बाहिर शौचालय जान अनुमति पाइन्छ, त्यसउता चार दिवारभित्र बन्दी । न ब्रस गर्नु न नुहाउनु । न कपाल काट्नु न नङ्ग फाल्नु । डिउटीमा बस्ने सिपाहीले भनेका- हामी त वनमान्छे जस्ता देखिन्छौँ रे । ऐना हेर्न पाएकै छैनौं, कस्तो छौँ कस्तो ! भित्रै बसेको भएर होला छाला चाहि एकदम सेतो भएको थियो सबैको ।

 

हामीलाई  राखेको ठाउँमा ३ जना सिपाहीको बस्ने-सुत्ने कोठा छ । कहिलेकाहीँ चिया दिन्छन् । अनि, यस्तो चाडबाडका दिन नुन-पिरो मिलाएको, तेल-मसला हालेको खाना खान पाइएला भन्ने आशा हुन्छ । सिपाही आएर ढोका खोल्लान् र चिया देलान् भनेर पर्खँदा पनि रमाइलै हुन्छ, बिहान बितेको पत्तै हुँदैन ।

 

बिहानको ९ बज्छ । १० बज्छ । सिपाहीहरुको भान्सामा भाँडा बज्छन् । अनि बिस्तारै भाँडा बज्न छोड्छ र अब हाम्रो पालो आएको कुराले मनमा आनन्द आउँछ । यसरी ढोका खुलेको आवाज कुर्दा-कुर्दै कति दिन त साँझ पर्थ्यो तर खाना आउदैनथ्यो । अनि डिउटीको सिपाहीले भन्थ्यो- तिमिहरुको बाउ-आमा मरे रे, त्यही भएर एकछाके बारेको आज ।

 

उनीहरुको कुराले मनमा भक्कानो छुट्छ तर परचक्रीका सामु रुनु भएन । भोकले ख्याउटिएको अनुहार लिएर  तैपनि हामी हाँसिरहन्थेउ । सिपाहीहरु भन्थे- ‘कति ढुक्कका मान्छे होलान् यिनीहरु, शोकचिन्ता केही कुराको पनि छैन ।’

 

११ बजिसकेको थियो , डिउटीको सिपाही आएर भन्यो- आज त पेटभरि मासुभात खान पाउने भयौ । मासुभात भनेपछि मुख मिठ्याएर बस्याैँ सबैजना । धेरै ढिलो गरेर सिपाहीले ढोका खोल्यो र भन्यो- ‘केटा हो, अहिले यस्तै भयो बेलुका राम्रोसँग खान दिउँला है ।’

 

सिपाहीले थालमा हालेको भात छामेर हेरेको त चार गाँसबढी भातै छैन । दाल त सधैँकै जस्तै टर्लङे पानी । कैयौं दिनदेखि पेट भरेर खान पाइएको छैन । चाडका दिन त पेटभरि खान पाइएला भनेको ! तर आज पनि उस्तै । आँखाबाट आँसु पो झरेछन् । एउटा सिपाहीले भन्यो- ‘ल नरो-नरो । बेलुका पेटभरि खालास् ।’ बिचरा ती सिपाहिलाइ के थाहा कि, १ वर्षदेखि पेटभरि खान नपाएको मान्छेको मन चाडको दिन पनि पेटभरी  खान नपाउँदा कस्तो हुन्छ भनेर !

बिहानको खाना खायौं । अल्छी मान्दै-मान्दै दिन ढल्यो र बेलुकाको खाना खाने वेला आयो । बेलुका पनि उस्तै । भर्खर दिन ढलेको थियो, सिपाहीले खाना ल्याएर ढोकाबाहिर छोडेर गयो । डिउटीको सिपाहीले ढोका खोलेर खाना थालमा हालिदियो र कपाकप खायौं । खाना खाँदा हातको हत्कडी खोलिएको मौका छोपेर  पूर्वयोजना बमोजिम डिउटीमा बसेको सिपाहीकाे घाँटी अठयाँयौँ र उसको हतियार खोस्याैँ । अनि हामीले उसको हातबाट चाबी खोसेर हाम्रा हात-खुट्टामा लाएका जन्जिर खोल्याैँ । यसरी आफैलाइ मुक्त पार्याैँ ।

त्यसपछि हतियार भण्डारमा गएर त्यहाँ रहेका सबै हतियार झिक्याैँ र त्यो सिपाहीलाइ अगाडि लगाएर ब्यारेकको चोरबाटो हुँदै बाहिर निस्कियाैँ ।

त्यो बिस्मयकारी साँझ बितेर गएको आज १६ वर्ष भएछ । र पनि सधैँ ताजा लागिरहन्छ । त्यो साँझ कतै मरी पो हालिन्छ कि भन्ने त मनमै नआएको रहेछ । कसरी बाहिर निस्कने र जनयुद्धका क. प्रचण्डको नेतृत्वमा कसरी नयाँ इतिहास रच्ने  भन्ने मात्र मनमा रहेछ ।

हरेक वर्षको कार्तिक मसान्तका दिन, महिनौँपछि फुत्केर हिँडेको उही नयाँ दिन जस्तो अनुभुति भैरहन्छ ।

ब्यारेक ब्रेक गरेर निस्केका साथीहरूमध्ये क. विप्लवलाई  पछि २०६१ मा सेनाले समाएर ढुङ्गाले किचिकिची  लेखनाथमा मारे । अर्का साथी सेवकजी पछि के कुरामा  हो, आफ्नै साथीहरु जनमुक्ति सेनाबाट  ढाड भाँचिने गरी जनमुक्ति सेनाको ब्यारेकभित्रै  पिटाइ खानुभएछ र अहिले अपाङ्गजस्तो अबस्थामा अरबतिर भेडा चराँउदै हुनुहुन्छ रे ।

ठाकुरसिंह दाइ धादिङको नागिधारतिर हलिगोठालो  गर्दै जीवन चलाउनु भएको छ रे । देवी ढकालका दम्पती जनमुक्ति सेनामा अयोग्यमा परेपछि चितवनमा चटपटे- सटपटेको सानो टंकी राखेर बस्नु भएको छ ।

बिगुलजी चितवनमै थोरै कुखुरा पालेर बस्नुभएको छ । प्रकाशजी गाइ पालेर बस्नुहुन्छ त्यतै । म आफ्नै गाउँमा चिया पसल थापेर  बसेको छु ।

ब्यारेक ब्रेकर साथीहरूसँग भेट हुन्छ बेलाबेलामा । अस्ति बिगुलजीले फोन गर्नुभएको थियो- ‘हामी सबैको त सानो भए पनि बस्ने घरसम्म छ, यो नसे (देवी ढकाल) को मुन्टो लुकाउने ठाउँसम्म पनि छैन । एउटा सानो जग्गामा घर बनाइदिउँ  भनेर जग हाल्न लाएको ।’

मैले बिगुलजीलाइ भनेँ- ‘तपाईहरु काम गर्दै गर्नोस्, म ५० हजार पठाइदिन्छु ।’

सिन्धुपाल्चोकको लेकबाट उहिल्यै २०५५-५६ तिरै जनयुद्ध लड्न भनेर घरबाट निस्केको मेरो मित्रको आजसम्म मुन्टो लुकाउने ठाउँ छैन । जनमुक्ति सेनामा हुँदा बुढाबुढीले पाएको थोरै पैसाले चितवनमा घडेरी किनेका रहेछन् र अहिले मित्र बिगुलको पहलमा सानो बुकुरो बन्दैछ ।

बडो दु:ख भोगेर आइयो । हुन त  जिन्दगी जस्तो छ, त्यस्तैमा रमाइलो छ ।  छन त अहिले पनि दु:खै छ जिन्दगी तर कतै नचिनेको मान्छेलाई अर्को साथीले ‘ब्यारेक ब्रेकर’ भनेर चिनाउँदा गर्व लाग्छ ।

अहिले जहाँ छौँ हामी यत्तिमै सकिँदैन क्रान्ति ।  क्रान्ति- समानता र स्वतन्त्रताको यो लडाइँमा हामीले जसलाइ नायक मानेर ठुलाठुला दुस्साहस गर्ने आट गरेका थियाैँ, तिनै नायक क. प्रचण्ड आज बाल्कोट हुँदै थाङ्नेघाटमा बिसर्जन हुन पुगे । र, बाँकी विप्लव-वैद्य-बाबुराम-साइलाहरु आज पनि समानता र समृद्धिको लडाइँ लडिरहेका छन् । गर्व लाग्छ- सधैँ न्याय-समानता र स्वतन्त्रताको सिपाही हुन पाएकोमा !


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com