संक्रमितको उपचारमा शुल्क लिने विषयमा सरकार र सरकारी अस्पतालहरुबीच नै कुरा बाझियो (भिडियो)



प्रकाशित मिति : Nov 01, 2020
  • रिया भण्डारी,

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचार गर्न आएका बिरामीसंग धरौटी नलिन सबै सरकारी अस्पताललाई निर्देशन दिइएको जनाएको छ ।

तर, अस्पतालहरुले भने स्वास्थ्य मन्त्रालय कै निर्देशनमा संक्रमितको उपचार शुल्क लिएको प्रष्ट पारेका छन् । केही समय अघिसम्म कोरोना संक्रमितको उपचार परीक्षण निशुल्क थियो । स्वास्थ्य मन्त्रालयकै निर्णय अनुसार अहिले कोरोना परीक्षणदेखि उपचारको समेत शुल्क लाग्छ ।

स्वास्थ्य मन्त्रालयले नै कोरोना संक्रमितको उपचारमा नसक्नेले बाहेक सक्नेको शुल्क लिएर गर्नु भन्ने निर्देशन भएको कारण उपचार बापत शुल्क लिन थालेको अस्पतालले जनाएको छ ।

शुक्रराज सरुवा अस्पातल टेकुले बाहेक अन्य सरकारी अस्पतालहरुले गत हप्तादेखि नै शुल्क लिन शुरु गरिसकेका थिए । आइतबारदेखि शुक्रराज सरुवा रोग अस्पताल टेकुले पनि कोरोना संक्रमितको उपचारमा शुल्क लिन थालेको छ ।

यदी शुल्क तिर्न नसक्ने विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने अस्पतालले जनाएको छ ।

निजामति कर्मचारी अस्पताल, शहीद शुक्रराज अस्पताल टेकु, धुलिखेल अस्पताल सहित विभिन्न सरकारी निजी तथा सामुदायिक अस्पतालले धरौटी राख्नुपर्ने रकम सहितको सूचना निकालेका थिए ।

स्वास्थ्य मन्त्रालयले भने उपचार गर्नु अघि धरौटी राख्नका लागि सूचना निकाल्ने सबै अस्पतालहरुलाई स्पष्टीकरण सोधिएको समेत दावी गरेको छ ।

हाल आइसोलेसनमा भर्ना हुने बिरामीका लागि प्रतिदिन २ हजारका दरले १० दिन आइसोलेसनमा बस्दा २० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । सामान्य लक्षण भई अस्पताल भर्ना भएकाकालाई प्रतिदिन ३ हजार ५ सय संक्रमितले १० दिन अस्पताल बस्दा ३५ हजार खर्च हुन्छ ।

जटिल बिरामीका लागि प्रतिदिन ७ हजारका दरले १० दिनसम्म अस्पतालमा बस्दा ७० हजार तिर्नुपर्छ ।

जटिल र क्रिटिकल बिरामीका लागि प्रतिदिन १५ हजारका दरले १० दिनमा १ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ । संक्रमित भएर सरकारी अस्पतालमै भर्ना हुँदा पनि कम्तिमा डेढ लाख खर्च हुन्छ । जुन सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com