नेकपामा अध्यक्षद्वयबीच संवादहीनता बढ्दै, ओलीको ‘फकाउ’ राजनीति पनि भुत्ते बन्दै (भिडियो)



प्रकाशित मिति : Oct 30, 2020

काठमाडौं, १४ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद बल्झिन थालेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवाद नै हुन सकेको छैन । संवादका लागि दूत पठाउन थालिएको छ ।

शुक्रबारसम्ममा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले खुमलटार आफू निकटका नेताहरु पठाएका छन् । तर, अहिले नै अध्यक्ष दाहाल फक्किने ‘मुड’मा देखिदैनन् । ओलीले अर्का नेता माधवकुमार नेपाललाई पनि फकाउने प्रयास गरेको उनी निकट नेताहरु नै बताउँछन् ।

गत भदौ २६ गते सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भयो । यो बैठकले १५ बुँदे प्रस्ताव पारित ग-यो ।

नेकपा स्थायी कमिटीले पारित गरेको प्रस्तावः

  • –पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने
  • –अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने
  • –पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने
  • –राजनीतिक तथा संगठनात्मक क्षेत्र
  • –एकताको राष्ट्रिय अधिवेशन
  • –सरकारको कामका सम्बन्धमा
  • –संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने
  • –प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने
  • –नेपालको सीमा समस्या र समाधान
  • –कोभिड १९ को महामारीको रोकथाम
  • –प्राकृतिक प्रकोप नियन्त्रण
  • –शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नेतर्फ
  • –पार्टी निकट मानिएका प्रतिष्ठानहरुको व्यवस्थापन
  • –अमेरिकासँगको एमसीसीबारे

असोज चार गते बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको प्रस्तावलाई थप व्याख्या गरेको छ ।

असोज ४ गतेको सचिवालय बैठकको निष्कर्षः

  • –मन्त्रिपरिषद्को पुनर्गठन स्थायी कमिटीको निर्णय अनुसार सहमतिमै गर्ने
  • –संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सरकारलाई निर्णय गर्नका सजिलो पार्ने गरी आधार तयार पारिदिने
  • –साङ्गठनिक एकीकरणका बाँकी कामहरू पूरा गर्ने
  • –सङ्गठन र विभागका निर्णयहरूबारे छलफल र अनुमोदनको प्रस्ताव, स्थायी कमिटी र केन्द्रीय कमिटीका रिक्त पदपूर्ति गर्ने पार्टीका केन्द्रीय सदस्यहरूलाई आर्थिक सहयोग गर्ने

तर, स्थायी कमिटीको प्रस्ताव र सचिवालयको निष्कर्षको पालना नभएकोमा अध्यक्ष दाहाल रुष्ट बनेका छन् । अघिल्लो महिना मात्र अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच १५ पटक भेटवार्ता भयो ।

घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच कुरा नमिलेपछि दाहालको बालुवाटार जाने सिलसिला रोकियो, अध्यक्षद्वयका बीचमा संवादहीनता सुरु भयो ।

कात्तिक ४ गते कर्णाली विवादबारे सामान्य छलफल गरेको अध्यक्षहरु अहिले चुपचाप छन् । समस्या झन जटिल बन्न लागेको नेकपाका कतिपय नेताले निष्कर्ष निकाल्न थालेका छन् ।

शुक्रबार मात्र अध्यक्ष ओलीले आफू निकटका नेताहरुलाई दाहाल फकाउन पठाएको वालुवाटार र खुमलटार दुबै तर्फबाट पुष्टि भएको छ । ओली दाहाललाई मात्र होइन, माधव नेपाललाई पनि फकाउन क्रियाशिल बनेका छन् ।

अब राजनीतिक दाउपेचमा अल्झिएको नेकपा विवाद कहिले समाधान होला ? वा कुन परिणाममा पुग्ला समयक्रमले देखाउँदै जाला ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com