चाडबाडमा कम परीक्षण हुँदा संक्रमित पनि कम देखिए, अनुपातमा हेर्दा संक्रमितको दर बढ्दै (भिडियो)



प्रकाशित मिति : Oct 28, 2020

काठमाडौं, १२ कात्तिक । मुलुक अहिले चाडपर्वको रौनकमा छ । घरघरमा दशैंको टीका थाप्ने क्रम अझै जारी छ । टीका थाप्नका लागि एक ठाउँबाट अर्को ठाउँ जानेको संख्यामा कुनै कमि आएको छैन ।

यसबीचमा सरकारले पीसीआर परीक्षण कम गरेपनि संक्रमितको संख्या भने ह्वात्तै बढेको छ । कात्तिक १ गते घटस्थापनाबाट सुरु भएको दशैंको योबीचमा संक्रमितको रफ्तार पनि बढेको छ । अनि, सँगसँगै मृतक पनि ।

सरकारले चाडपर्व लक्षित स्वास्थ्य मापदण्ड जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलन नदिन पटकपटक नागरिकलाई सचेत गरायो । चाडपर्व मनाउने क्रममा आफन्त, साथीभाइबीच जमघट नगर्न पनि भन्यो ।

तर, केहीले मात्रै यसको पालना गरेको पाइएको छ । यद्यपी, धेरैले यस वर्ष टीका घरघरमै सीमित गरेको भएपनि कोरोनाको संक्रमण फैलने भने छोडेन । फलस्वरुप : कात्तिक १ गतेदेखि १२ गते बुधबारसम्मको तथ्यांक हेर्ने हो भने संक्रमितको संख्या समेत मृतकको संख्यामा कमि आएको छैन ।

तीन दिन पीसीआर परीक्षण कम हुँदा संक्रमित कम देखिएपनि अनुपातमा हेर्दा यसको दर भने बढिरहेकै छ ।

कात्तिक १ देखि १२ गतेसम्मको कोरोनाको तथ्यांक

  • कात्तिक १ गते सम्मको संक्रमितको संख्या : १ लाख २९ हजार ३ सय ४
  • कात्तिक १ गते सम्मको उपत्यकामा देखिएका संक्रमितको संख्या : ५३ हजार ७ सय ८६
  • कात्तिक १ गते सम्मको निको हुनेको संख्या : ८९ हजार ८ सय ४०
  • कात्तिक १ गते सम्मको मृत्यु हुनेको संख्या : ७ सय २७

अब हेरौं कात्तिक १२ गतेको तथ्यांक :

  • कात्तिक १२ गते सम्मको संक्रमितको संख्या : १ लाख ६२ हजार ३ सय ५४
  • कात्तिक १२ गते सम्मको उपत्यकामा देखिएका संक्रमितको संख्या : ७१ हजार ४ सय ८८
  • कात्तिक १२ गते सम्मको निको हुनेको संख्या : १ लाख २१ हजार ८ सय २४
  • कात्तिक १२ गते सम्मको मृत्यु हुनेको संख्या : ८ सय ८७

१२ दिनमा थपिएको तथ्यांक

  • १२ दिनमा ३३ हजार ५० कोरोना संक्रमित थपिए
  • १२ दिनमा उपत्यकामा मात्रै १७ हजार ७ सय २ कोरोना संक्रमित थपिए
  • १२ दिनमा ३१ हजार ९ सय ८४ कोरोना संक्रमित निको भए
  • १२ दिनमा १ सय ६० कोरोना संक्रमितले ज्यान गुमाए

यसरी हेर्ने हो भने सबैभन्दा धेरै मृत्यु हुनेको संख्या छ । १२ दिनमा १ सय ६० ले ज्यान गुमाउँदा यही अनुपातमा हेर्ने हो भने एक महिना झण्डै ५ सयले ज्यान गुमाउने आंकलन गर्न सकिन्छ ।

सरकारले संक्रमितले १४ दिन क्वारेन्टिनमा रहेपनि विना जाँच डिस्चार्ज गर्न मिल्ने निर्णय लिँदा संक्रमित निको हुने क्रम बढ्दो छ । तर, चाडपर्वको बीचमा उपत्यकामा १७ हजार बढी थपिनु र संक्रमित पनि ३३ हजारका दारले भेटिनुले आउँदा दिन थप भयावह हुने संकेत गर्दछ ।

यसबाट जोगिन मास्क र सेनिटाइजरको प्रयोग गर्न भने छोड्नुहुँदैन । साथै, कोरोनालाई कम पक्कै आँक्नु पनि हुँदैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com