इलाम मालपोत कार्यालयमा एक महिनामै ९० लाख बढी राजश्व संकलन



प्रकाशित मिति : Oct 22, 2020
  • विनय तिम्सीना,

इलाम ६ कात्तिक । कोभिड १९ को प्रकोप तथा अन्य विभिन्न कठिनाईका कारण आर्थिक गतिविधि रोकिदा अर्थतन्त्रमा नराम्रो धक्का पुगेको छ । यसैबीच इलामस्थित मालपोत कार्यालय इलामले राजस्वमा सोचे भन्दा धेरै प्रगति हाँसल गरेको छ ।

विभिन्न कठिनाईका वावजुद पनि मालपोत कार्यालय इलामले असोज महिनामा जम्मा १,५९८ वटा कारोबार मार्फत् करिब ४,८२० सेवाग्राहीलाई सेवा उपलब्ध गराउँदै ९० लाख २९ हजार १९९ रुपैयाँ राजश्व समेत संकलन गर्न सफल भएको छ ।

जस अनुसार प्रति कार्यदिन करिब ६२ वटा सेवा प्रवाह गरिएको छ । मेहनेत गरेर काम गरेमा लक्ष्य सहजै हासिल गर्न सकिने मालपोत कार्यालय इलाममा भर्खरै सरुवा भएर आएका कार्यालय प्रमुख यादव राउत बताउँछन् ।

कार्यालयले सबैभन्दा धेरै लिखत पारित दस्तुरबाट ५३ लाख ५६ हजार ८ सय ७९ रुपैया राजस्व संकलन गरेको छ । त्यस्तै दृष्टिबन्धकबाट १८ लाख १२ हजार ५ रुपैया, लाभ करबाट १३ लाख ९ हजार ३५ रुपैया, रोक्का शुल्कबाट ३८ हजार ९ सय रुपैया संकलन गरेको छ ।

त्यस्तै, न्यायिक दस्तुरबाट १ लाख ४९ हजार ४ सय ४१ रुपैया, मोलपोत वापत ३ लाख ३८ हजार ७ सय ८४ रुपैया, प्रतिलिपि शुल्कबाट १० हजार ९ सय १० रुपैया, पुर्जा विक्री शुल्कबाट १२ हजार ७ सय ५० रुपैया राजस्व संकलन भएको छ ।

साथै कार्यालयले लिखत पारित सम्बन्धी ८ सय २२, रोक्का पारित सम्बन्धी ८२, फुकुवा पारित सम्वन्धी ४ सय ४३, संशोधन सम्बन्धी ८१, घर कायम सम्बन्धी ४१, प्रतिलिपि सम्बन्धी ३४, नामसारी सम्बन्धी ३७, लगत कट्टा सम्बन्धी ११, हदबन्दी छानविन सम्बन्धी ४, मोही नामसारी सम्बन्धी १, एकाघर मोही सम्बन्धी १, दाखिल खारेज २ वटा सेवा प्रवाह गरेको कार्यालयका सूचना अधिकारी मालपोत अधिकृत जसबहादुर राईले बताए ।

सेवा प्रवाह गर्न कठिन

लामो समयपछि कार्यालय खुला हुदा एक्कासि सेवाग्राहीको भीडभाड भई कोरोना संक्रमणको जोखिम बढेको अवस्थामा सम्भव भएसम्म स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्दा अत्यधिक भीडलाई थेग्न समस्या भइरहेको छ ।

जसलाई व्यवस्थापन गर्नको लागि चाँडै डिजिटल टोकन प्रविधिको अवलम्वन गरिने भएको छ । त्यस्तै यस कार्यालयमा एकद्वार प्रणाली बनाई जनमैत्री सेवा प्रवाहको व्यवस्थापन गरिएको छ । जसबाट कार्यालयका सबै सेवाहरुलाई जनताको सामुन्नेमै सम्पादन हुने गरेका छन् ।

सेवाग्राहीहरुलाई विभिन्न फाँटहरु खोज्न कठिनाई नहोस् भन्ने अभिप्रायले यस्तो अभ्यास शुरू गरिएको हो । कार्यालयमा जनशक्ति तथा प्रविधिको कठिनाईका कारण बेला बेलामा सेवा प्रवाह अवरुद्ध हुँदा जनताले कठिनाईको सामना गर्नु परिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com