गुणस्तरहीन डण्डी फिर्ता लिन निर्देश गरेपनि विशाल ग्रुपको उत्पादन अझै बजारमा (भिडियो)



प्रकाशित मिति : Oct 21, 2020
  • तारा आचार्य,

विराटनगर, ५ कात्तिक । म्याद गुज्रेको खाद्य सामग्रीहरुमा रिलेबलिङ गरेर वितरक कम्पनीहरुमार्फत बजारमा पठाउँदै आएको विशाल ग्रुपले निर्माण सामग्रीमार्फत पनि उपभोक्तालाई उत्तिकै ठग्दै आएको छ ।

विशाल ग्रुपको नाममा रहेको कमला आईरन एण्ड स्टील इण्डष्ट्रिजले उत्पादन गर्दै आएको स्टिल डण्डी गुणस्तरहीन भएको पाइएपछि उत्पादन इजाजतमा नै रोक लगाइएको छ ।

तर उस्ले बजारमा पठाइसकेको निर्माण सामग्रीहरु भने अझै पनि फिर्ता लिएको छैन । नक्कली स्टीकर टाँसेर उपभोक्ता ठग्ने विशाल ग्रुपको अर्को उद्योग कमला आइरनले गुणस्तरहिन डण्डी विक्री गरेर उपभोक्तालाई ठगेको पुष्टि भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले २०७७ साल असार २६ गते गुणस्तरहीन डण्डी उत्पादन गरेको भन्दै मोरङको टंकिसिनवारी स्थित कमला आईरन एण्ड स्टील इण्डष्ट्रिजलाई टिएमटी डण्डी उत्पादन र विक्रीमा रोक लगाएको थियो ।

तर सो उद्योगले करिव ५ हजार मेट्रिक टन कमसल डण्डी विक्री मात्र गरेको छैन्, बजारबाट डण्डी फिर्ता ल्याउने विभागको निर्देशन समेत लत्याएको छ । यसले गर्दा कमसल कमला डण्डी प्रयोग गर्ने उपभोक्ताहरुको घर जोखिममा समेत परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले सो उद्योगबाट उत्पादित टिएमटी बार एफई ५०० को १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएमका उत्पादनहरु गुणस्तरहिन भएकाले नेपाल गुणस्तर प्रमाणचिन्ह स्थगन गरेको थियो ।

छड, सिमेण्ट लगायतका वस्तुहरुमा नेपाल गुणस्तर प्रमाणचिन्ह अनिवार्य मानिन्छ । नेपाल गुणस्तर प्रमाणचिन्ह नभएका वस्तु बजारमा बेच्न पाइदैन ।

करिव ३ महिना पछि नापतौल तथा गुणस्तर कार्यालय विराटनगरले अनुगमन गर्दा कमसल डण्डी उत्पादन गर्ने सो उद्योगबाट उत्पादित डण्डीहरु विक्री गरेको पाइएको थियो । बजारमा पठाइएका डण्डीहरु फिर्ता नगर्ने बताएपछि डण्डी विक्रेताहरुले परल मूल्यमा नै उपभोक्तालाई डण्डी विक्री गरेको बताएका छन् ।

नापतौल तथा गुणस्तर विभागले नेपाल गुणस्तर प्रमाणचिन्ह स्थगन गरेपछि तत्कालै उद्योग सिल र बजारमा पठाइएका डण्डीहरु फिर्ता ल्याउने कार्य नगर्दा उद्योगलाई करोडौं फाइदा पुगेको छ भने उपभोक्ताहरु ठगिने क्रम जारी छ ।

बजारमा विक्री नभएको भए करिव ५ हजार मेट्रिक टन गुणस्तरहिन डण्डी उद्योगले स्क्र्यापमा बेच्नुपर्ने उद्योगकै प्राविधिकहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com