कर्णाली विवादबारे अध्यक्षद्वय ओली-दाहालबीच सहमति जुटेन



प्रकाशित मिति : Oct 18, 2020

काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शनिबार (हिजो) प्रधानमन्त्री ओलीले कर्णालीको विवादबारे दुई अध्यक्षले लिने निर्णय मान्न निर्देशन दिएसँगै आइतबार (आज) भेटवार्ताका लागि कार्यकारी अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको हो ।

त्यसोत, गत असोज २८ गते अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै दुई अध्यक्षबीच संवाद रोकिएको थियो । बालुवाटार स्रोतका अनुसार आजको छलफल कर्णालीको विवादमै केन्द्रित भएको छ ।

यमलाल कँडेलको अगुवाईमा नेकपाकै १८ जना सांसदले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव तयार पारेका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात सांसदपछि हटेपछि तत्कालका लागि शाहीको मुख्यमन्त्री पद जोगिएको छ ।

मुख्यमन्त्री शाहीले गुलाबजंग शाहीलाई प्रमुख सचेतकबाट हटाएर सीता नेपालीलाई नियुक्त गर्नुभएको छ । त्यस्तै, सचेतकमा कर्मराज शाहीलाई नियुक्त गर्नुभएको छ । साथै, नेपाल समूहलाई थप तीन मन्त्री दिने सहमति पनि गर्नुभएको छ ।

यसै विषयलाई लिएर अध्यक्षद्वयबीच आज पनि सहमति जुट्न नसकेको बताइएको छ । प्रधानमन्त्री ओलीले कर्णालीका नेताहरुले मन्त्रिपरिषदबारे छुट्टै निर्णय लिन नपाउने अडान लिनुभएको छ । तर, दाहाल भने कर्णालीमा जुटेको सहमतिमा हस्तक्षेप गर्न नहुने भन्ने पक्षमा हुनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com