कात्तिक पाँच गते पुनःर्निर्मित रानीपोखरीको उद्घाटन गरिने



प्रकाशित मिति : Oct 18, 2020

काठमाडौं, २ कात्तिक । वि.सं.२०७२ सालको भूकम्पका कारण पूर्णरुपमा भत्किएको ऐतिहासिक रानी पोखरीको पुनर्निर्माण सम्पन्न भएको छ । उक्त पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते (बुधबार) गरिने भएको छ ।

बुधबार बिहान प्रताप मल्लकालीन न्हुँपोखरी उद्घाटन हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको हो । उद्घाटनसँगै यो वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको दर्शन गर्न पाउने भएका छन् ।

विसं १७२७ सालमा राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन रानीपोखरीको निर्माण गराएका हुन् । सोही समयमा पोखरीका बीचमा बालगोपालेश्वर मन्दिर पनि स्थापना गरिएको हो ।

प्राधिकरणका अनुसार बुधबार नै रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि उद्घाटन गर्न राष्ट्र प्रमुखलाई अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com