दशैंका लागि कैदीबन्दीलाई सांसद सुनुवारको खसी उपहार



प्रकाशित मिति : Oct 18, 2020
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २ कात्तिक । प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले जिल्ला कारागार ओखलढुंगाका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । दशैको अवसर पारेर सांसद सुनुवारले कारागारमा कैद भूक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपहार दिएका हुन् ।

आइतबार बिहान कारागार कार्यालयमै पुगेर सांसद सुनुवारले दशैको उपहारसँगै कोरोना भाइरसबाट बच्नका लागि स्यानिटाइजर र मास्कसमेत बितरण गरेका छन् । उनले २०७१ सालदेखि प्रत्येक वर्ष जिल्ला कारगारका कैदीबन्दीलाई दशैंको अवसर पारेर भेटघाट गर्ने र खसी उपहार दिदै आएका छन् ।

सांसद सुनुवारले कोरोना संक्रमणको जोखिम रहेकाले सुरक्षित भएर चाडपर्व मनाउन तथा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरे ।

खसी हस्तान्तरण गर्दै उनले कोही कानूनको अज्ञानता, कोही परिबन्द र कोही संगतले अपराधमा संलग्न भएर कारागार आएको भन्दै जिल्लाको जनप्रतिनिधि भएको नाताले भेटघाट गर्न आएको समेत बताए ।

उपहार पाएर खुसी भएका कैदीबन्दीले सांसद सुनुवारसहितको टोलीलाई ढाकाटोपी उपहार दिएका छन् । कारागारको तर्फबाट नाइके नबराज बस्नेतले सांसदसहित सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, डीएसपी रुपेश खड्कालगायतलाई टोपी उपहार दिएका छन् ।

कैदीबन्दीसँग भेट गरेपछि सिद्धिचरणका मेयर श्रेष्ठले उपहारभन्दा पनि चाडवाडमा परिवारबाट टाढिएर बसेका व्यक्तिहरुसँगको भेटघाट, भलाकुसारी र सुख दुखका विषयमा हुने कुरा भावनात्मक भएको बताए ।

कैदीबन्दीहरुले बसोबास जीर्ण र साँगुरो भवनमा रहेकाले क्षमताभन्दा तेब्बर बढी कोचाकोचमा बस्नु परेको, खानेपानीको समस्या हुने गरेको र अदालती प्रक्रिया र सुनुवाई लम्बिदा समयमा न्याय पाउन नसकेको गुनासा गरेका थिए ।

सांसद सुनुवारले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउन पहल भइरहेका बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com