उदयपुरमा स्कोरपियो दुर्घटना : थप तीनको पनि पहिचान खुल्यो, रातिको समयमा आवत-जावत रोक (अपडेट)



प्रकाशित मिति : Oct 18, 2020
  • अभिमन्यू लामिछाने,

उदयपुर, २ कात्तिक । सिद्धिचरण राजमार्ग अन्तर्गत् उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राति बा २० च ७१७१ नम्बरको स्कोरपिओ दुर्घटना हुँदा पाँचको घटनास्थलमा नै मृत्यु भएको थियोे । साथै सोही दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुने थप तीनको पनि पहिचान खुलेको छ । उनीहरु ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ की ३५ नरिमाया सार्की र ४० वर्षीय खड्ग बहादुर सार्की तथा कटारी नगरपालिका–८ सिरिसेका महेश बहादुर विक रहेका ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डीएसपी) हेमन्त भण्डारी क्षेत्रीले बताए ।

उनीहरुको पनि घटनास्थलमै मृत्यु भएको थियो । त्यसोत, यसअघि नै पहिचान खुलेका मृतकहरु ओखलढुंगा मानेभञ्ज्याङ–९ का ४५ वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्ण बहादुर सार्की रहेका छन् ।

उक्त दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की १८ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ, भने अर्की घाइते २१ वर्षीया कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी सडकबाट करिब नौ सय मिटर तल खसेको छ । मृतकको शव ईलाका प्रहरी कार्यालय कटारीको टोली, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो ।

उनीहरु सबै जना भारतबाट दशैं मान्नका लागि घर आउने क्रममा भैरहवा क्वारेन्टाइनमा १४ दिन बसेर गाडी रिर्जभ गरी घर हिडेका थिए ।

दुर्घटना बढेको भन्दै रातको समयमा सवारी आवत-जावतमा रोक

केही दिन अगाडि असोज २१ गते सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–८ सिरिसेमा कन्टेनर (डब्बा) सडकदेखि ५ सय मिटर तल खस्यो । कन्टेनर दुर्घटना हूदा २ जनाको घटनास्थल मैं मृत्यु भएको थियो भने २ जना सख्त घाइते भएका थिए ।

हाल उनीहरुको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । शनिवार राति १२ बजे कटारी १४ स्थित भदौरे भीरबाट करीब ९ सय मीटर तल स्कार्पियो खस्दा घटना स्थलमैं ५ को मृत्यु भएको छ, भने ३ जना सख्त घाइते भएका छन् ।

यसरी दुर्घटना बढ्दै गएपछि स्थानीय प्रशासनले साँझ ५ बजे देखि बिहान ४ बजेसम्म सवारी आवत-जावत रोक लगाएको छ ।

बढ्दो सवारी दुर्घटनालाई मध्येनजर गर्दै दुर्घटना नदोहारियोस्, धनजनको क्षती रोक्नका लागि उक्त कदम चालिएको ईलाका प्रहरी कार्यालय कटारीका डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा आज (आइतवार) बसेको बैठकले सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडक खण्डमा सडकको अवस्था अत्यन्त जीर्ण रहेको, भौगोलिक बिकटताको कारण सडक दुर्घटना हुनसक्ने जोखिमलाई मध्य नजर गर्दै कात्तिक २ गतेबाट साँझ ५ बजेदेखि बिहान ४ बजेसम्म मोटर साइकल बाहेक अन्य सवारी साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com