पर्वतको टकलाकमा ‘एक घर, एक धारा’ योजनाले खानेपानीको सङ्कट टर्दै



प्रकाशित मिति : Oct 18, 2020
  • धूर्व लामिछाने

पर्वत, २ कात्तिक । हिउँद लाग्ने बित्तिकै खानेपानीको समस्या झेल्दै आएका पैयुँ गाउँपालिका वडा नम्बर १ टकलाकका गाउँमा अब यो समस्या टर्ने भएको छ ।

वडा भित्रका दुई सय घरधुरी समेट्ने गरी ‘एक घर एक धारा’ योजना सहितको टकलाक खानेपानी योजना निर्माण सुरु भएको छ । सम्झौता भएको दुई बर्ष भित्रमै निर्माण सम्पन्न गर्ने गरी खानेपानी योजनाको काम सुरु भएको उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर रानाले बताउनुभयो । खानेपानीको चरम समस्या झेल्दै आएका वडावासी खानेपानी आयोजना निर्माणको काम सुरु भएकोमा राहत हुने आशामा छन् ।

संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना पोखराका अनुसार झन्डै ४ करोड २९ लाखको लागतमा खानेपानी योजना निर्माण सुरु भएको हो ।
योजनाबाट टकलाकको २ सय घरधुरीमा खानेपानी आपूर्ति गरिने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका इन्जिनियर कुल प्रसाद पौडेलले जानकारी दिनुभयो । खानेपानी योजनाको प्रतिनिधिसभा सदस्य पदम गिरीले शिलान्यास गर्नुभएको छ ।

उहाँले प्रत्येक घरधुरीमा खानेपानी सुविधा पु¥याउने सरकारको लक्ष्य भएकाले सोही अनुरुप बजेट बिनियोजन भएको बताउनुभयो । योजनाका लागि बजेट अभाव हुन नदिन सम्बन्धित मन्त्रालय र विभागमा आफूले आग्रह गर्ने उहाँको प्रतिबद्धता रहेको छ । उहाँले केहि वर्षभित्र पर्वतलाई मुलुकमै पहिलो स्वच्छ पीउने पानीयुक्त जिल्ला बनाउने लक्ष्य सहित खानेपानी क्षेत्रमा काम गरिने दाबी समेत गर्नुभयो । उहाँले जिल्लामा सञ्चालित सबै योजनाहरु समयमै सम्पन्न गर्ने गरी स्थानीय तहलाई जागरुक बनाउने बताउनुभयो ।

पैयुँ गाउँपालिका वडा नम्बर १ टकलाकका वडा अध्यक्ष पिताम्बर भुषालले टकलाकको खानेपानी समस्या समाधान गर्न यो आयोजना महत्त्वपूर्ण उपलब्धि भएको दाबी गर्नुभयो ।

चुनावमा हरेक घरमा एउटा खानेपानीको धारा पु¥याउने प्रतिबद्धता गरे अनुसार काम सुरु गरिएको उहाँको भनाई छ । आयोजनाको अहिले ट्याङ्की र धारा निर्माणको काम शुरु भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com