लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ



प्रकाशित मिति : Oct 18, 2020

सप्तरी, २ कात्तिक । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई आज बिहान सार्वजनिक गरेको छ । उनीहरु काका र ठूलो बुवाका छोराहरु हुन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स ७ प १८६५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् । मोटरसाइकल पछाडि सवार भरतका साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको स्वीकारेका छन् । भरतले लगाएको प्याण्ट्सको गोजीमा प्लाष्टिकभित्र पोका बनाएर राखेका अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरुद्ध लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार मुद्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com