केराखेती गरिरहेका कांग्रेस नेता भन्छन्- ‘खालि सरकारको विरोध मात्र हैन उत्पादन पनि बढाऔँ’



प्रकाशित मिति : Oct 18, 2020
  • शितल भट्ट

कञ्चनपुर, २ कार्तिक । स्थायी शिक्षकबाट राजिनामा दिएर राजनीतिमा होमिएका नेता जनक सिंह धामी पछिल्लाे समय व्यावसायिक केराखेतीमा जुटेका छन् । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता धामीले जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने उदाहरणीय काम गरेका छन् । उनी समाजसेवामा समेत सक्रिय छन् ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता धामीले खालि सरकारको एकोहोरो विरोध गरेर समय खर्चनुभन्दा आफूले समेत उत्पादन कार्यमा लागेर आत्मनिर्भर बन्नु राम्राे हुने बताए । त्यही साेचले केराखेती रोजेकाे उनकाे भनाइ  छ ।

कञ्चनपुरको बेलडाँडी गाँउपालिका- ४ वैवाहका स्थानीय बासिन्दा नेता धामीले पुनर्वास नगरपालिका- ४ जनकबस्तीमा पाँच विघा जमिन भाडामा लिएर केराखेती गरिरहेका छन् । उनले गत वर्षदेखि स्थानीय दिनानाथ अधिकारी सहितकाको जमिन भाडामा लिएर ‘जि ९’ प्रजातिको खेरा खेती सुरू गरेका थिए । वार्षिक ४० हजार भाडा तिर्नेगरी जमिन भाडामा लिएर व्यावसायिक केराखेती थालेकाे उनले सुनाए ।

स्थायी शिक्षकबाट राजिनामा दिएर राजनीतिमा होमिएका नेता धामी सन २००२ देखि ०८ सम्म दक्षिण कोरियामा रोजगारीमा समेत गएका थिए । विदेशमा सिकेको सीप, अनुभव, आफ्नो र देशका लागि केही गर्नुपर्छ भन्ने सोचका साथका आफैसँग पर्याप्त जमिन नभए पनि भाडामा जमिन लिएर केराखेती गरेकाे उनले सुनाए  ।

‘केरा खेती गरेर धेरै कमाउने उद्देश्य भने होईन,’ उनले भने, ‘आत्मनिर्भर बन्नका लागि उत्पादनका कार्यक्रममा जोडिएको हुँ ।’

तराई केराखेतीका लागि उर्बर भूमि र सम्भावनाले भरिभराउ तथा स्थानीय बजारमा नै खपत गर्न सकिने भएकाले केराखेतीमा जुटेको उनले बताए । ‘आत्मनिर्भर र स्वाबलम्बनका लागि हामीले राजनीतिसँगै उत्पादन बढाउने काममा लाग्नुपर्छ,’ उनले भने, ‘त्यही साेचले म खेतीसँगै राजनीति गर्छु ।’

उत्पादन थप विस्तार

धामीले अर्का स्थानीय युवा दानसिह ठगुन्नासँगै आधुनिक कृषि उद्यम केन्द्र मार्फत थप झण्डै २० लाख लागतमा केरा खेती गरेका थिए । अहिले उत्पादन थप विस्तारको योजना अघि सारेका छन् । ठगुन्ना पनि दुई दशक काठमाडाैँमा प्राविधिक शिक्षालयमा काम गरेर फर्किएका थिए ।

‘यहाँबाट सफल भएपछि थप जमिन खोजेर केराखेती गछौँ,’ धामीले सुनाए, ‘अब कोरा भाषणले इमान्दार राजनीति सफल हुँदैन् ।’

स्वच्छ र आत्मनिर्भर राजनीतिका लागि समेत कृषितर्फ उन्मुख भएको धामीले बताए । ‘आफूसँग आर्थिक स्रोतको पाटो नभएपछि पनि दैनिक खर्च व्यवस्थापनमा समस्या हुन्छ,’ उनले भने, ‘निर्वाचित भएपछि झन भ्रष्टाचार बढ्छ ।’ मुलुकलाई आत्मनिर्भर बनाउनका लागि व्यावसायिक कृषि प्रणालीको विकास अपरिहार्य रहेको ठहर छ ।

बजार, बीउ, मलखाद लगायत प्राकृतिक प्रकोपका कारण केराखेतीमा चुनौती थपिएको बताउँदै उनले सरकारी निकायबाट किसानका समस्या दिर्घकालिन समाधानका लागि पहल आवश्यक रहेको पनि औँल्याए । भारतबाट आउने केरासँग स्वदेशी केरा प्रतिस्पर्धा गर्न थप चुनौती रहेकाले भारतबाट कृषिजन्य पदार्थ अायातमा समेत कडाई गर्नुपर्नेमा जोड दिए ।

‘हामीबाट व्यवसायीले प्रति दर्जन ३० देखि ४० रुपैयाँमा खरिद गर्छन्,’ उनले भने, ‘उपभोक्ताले बजारबाट पाकेको केरा खरिद गर्दा एक सय रुपैयाँभन्दा बढी मुल्य तिर्नुपर्ने बाध्यता रहेकाे छ ।’ मूल्य समायोजन, किसानका पिरमर्का बुझेर सरकारले अग्रिम अनुदान भन्दा उत्पादनका आधारमा अनुदान दिनुपर्ने उनको सुझाव छ । अहिले स्थानीय धनगढी, महेन्द्रनगरका व्यवसायीले केरा खरिद गरिरहेकाे उनले सुनाए ।

प्राविधिक रुपमा खेरामा रोगब्याधी आए त्यो भन्दा ठुलो चुनौती केही नहुने उनले बताए । किसानका लागि उत्प्रेरणात्मक कार्यक्रम संचालन गर्नुपर्ने उनको सुझाव छ । केराखेतीमा चुनौती भए पनि सम्भावना पनि उत्तिकै भएको बताउँदै धामीले केराबाट विभिन्न परिकारका साथै आत्मनिर्भर बन्न र बारीमै उत्पादन गरेर स्वच्छ, ताजा फलफुल खान पाइने बताए ।

नेता धामीले भाषणबाजीको राजनीति गरेर मात्रै जनताले नपत्याउने भएकाले उद्यम र परिश्रम समेत गर्नुपर्ने बताए । ‘अब जनता धेरै सचेत भइसकेका छन,’ उनले भने, ‘खालि भाषण र गफ दिँदैमा कोही पत्याउँदैनन् । त्यसका लागि स्वयं आफुले समेत उदाहरणीय काम गर्नुपर्छ ।’ अरुलाई आत्मनिर्भर बन्नुपर्छ, स्वदेशमै काम गर्नुपर्छ भन्नेर सिकाइरहँदा आफुले समेत सोही अनुरुप उत्पादनका काम गरेर प्रेरणा दिनु राम्राे उनकाे भनाइ छ ।

६ युवालाई गाँउमै रोजगारी

काँग्रेस नेता धामीले केराखेतीसँगै स्थानीय ६ जना युवालाइ गाँउमै रोजगारी पनि दिएका छन् । केराखेतीमा मजदुरी गर्दै आएका स्थानीय करन खातीले गाँउमै रोजगारी पाएपछि गत वर्षदेखि भारत नगएको बताए । ‘पहिले रोजगारीका लागि भारत जान्थेँ,’ खातीले भने, ‘एक वर्षदेखि केराखेतीमै काम गरिरहेको छु, घरपरिवारको खर्च चलेको छ ।’

स्थानीय सरकारबाट प्रोत्साहन

पुनर्वास नगरपालिका- ४ का वडाध्यक्ष प्रेम बस्नेतले वडाका उत्कृष्ट व्यावसायिक खेतीमा जुटेका किसानलाई प्रोत्साहनका लागि पुरस्कारका कार्यक्रम अघि बढाएको बताए ।

‘वडाका तर्फबाट सबै किसानलाई प्रोत्साहित कार्यक्रम सञ्चालन गछौँ,’ अध्यक्ष बस्नेतले भने, ‘स्वदेशमै रोजगारीका लागि समेत उत्पादनका कार्यक्रम प्रभावकारी गर्नेको मुल्याङन गर्छौं ।’

पुनर्वास नगरपालिका कृषि शाखा प्रमुख कर्ण बहादुर शाहीले किसानलाई केराखेतीमा सहयोग गरिएको बताए । बीउ-बिजन, मलखाद र प्राविधिक सहयोग गर्दै आएको उनले बताए । स्थानीय सरकारले समेत व्यवसायीक कृषि खेतीमा उन्मुख भएका किसानलाई प्रोत्साहनका कार्यक्रम संचालन गरिने जनाएको छ ।

पुनर्वास नगरका मेयर जिवनराज थापाले किसानका लागि अनुदान, राहत एव प्रोत्साहनका कार्यक्रम संचालन गरिएको बताउँदै, नगरपालिकामा सुचिकृत हुन आब्हान गरेका छन् ।

‘हाम्रो नीति पनि परम्परागत कृषि प्रणालीलाई आधुनिकतर्फ उन्मुख गराउने हो,’ मेयर थापाले भने, ‘सम्बन्धित किसानले केराखेती गरेका छन्, त्यसको जानकारी नगरपालिकालाई गराउनुपर्छ । हामी मुल्यांकन गर्छौं ।’

मुलुक आत्मनिर्भर बन्नका लागि नेपालका लागि कृषि र पर्यटन सम्भावित क्षेत्र भएकाले त्यसतर्फ नगरपालिका सचेत रहेको मेयर थापाले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com