आइपिएल : धवनको शतकमा दिल्लीको उत्कृष्ट जित, शीर्षस्थानमा उक्लियाे दिल्ली



प्रकाशित मिति : Oct 18, 2020

एजेन्सी, २ कार्तिक । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्लाई पराजित गरेकाे छ । शारजाह रंगशालामा शनिबार राति सम्पन्न खेलमा दिल्लीले ५ विकेटको जित निकालेको हो।

जितका लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । अक्षर पटेलले तीन छक्का प्रहार गरेपछि अन्तिम बल बाँकी छदै दिल्लीले भेट्टायो । उनले  जडेजालाई दोस्रो, तेस्रो र पाँचौ बलमा छक्का प्रहार गर्दै जित पक्का गराए ।

टस जितेर ब्याटिङ रोजेको चेन्नईले मात्र ४ विकटको क्षतिमा पूरा ओभर खेल्दै १७९ रन बनाएको थियो ।

जितका लागि धवनले सतकिय पारी खेले । यो धवनको टि २० क्रिकेटमा पहिलो शतक हो । धवनले ५७ बलमा शतक प्रहार गरेका थिए ।

मार्कस स्टोइनिस र कप्तान श्रेयस अयरले क्रमशः २४ र २३ रन बनाए । यसबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गरेनन् । धवन भने खेलका प्लेयर अफ दि म्याचसमेत घोषित भए।

यता चेन्नईका दिपक चहरले दुई विकेट लिए भने एक विकेट लिनेमा सम कुरन, श्रदुल ठाकुर र ड्वेन ब्रावो रहे।

यसअघि पहिले ब्याटिङ सम्हालेको चेन्नईका फाफ डू प्लेसिसले ५८ रन बनाए भने अम्बाती रायडूले ४५ रन बनाए। त्यस्तै, शेन वाट्सनले ३६ र रविन्द्र जाडेजाले ३३ रन जोडे ।

बलिङको निम्तो पाएको दिल्लीका एनरिच नोर्तजेले दुई विकेट लिए भने तुषहर देशपाण्डे र कागिसो रबाडाले समान १–१ विकेट लिए ।

यो सँगै दिल्ली ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । दिल्लीले अब मंगलबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ । चेन्नईले सोमबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

 

 

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com