साथीको हत्या गरी फरार भएका दुई अभियुक्त ११ वर्षपछि पक्राउ



प्रकाशित मिति : Oct 17, 2020

काठमाडौं, १ कात्तिक । ईँटा भट्टामा सँगै काम गर्ने साथीको हत्या गरी फरार भएका दुई अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

उनीहरुलाई ब्युरोको टोलीले बाँके जिल्ला नजिक नेपाल भारत सीमामाबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना भारतमा आधारकार्ड बनाएर लुकिछिपी बस्दै आएको खुलेको छ । उनीहरुलाई अहिले काठमाडौं ल्याइएको सीआइबीकाे टोलीले जनाएको छ ।

काठमडौं ल्याइएका उनीहरुलाई थप कारवाहीका लागि वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

बिसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो ।

उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए । रासस


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com