कविता : मौनताको शान्ति



प्रकाशित मिति : Oct 17, 2020

  • कर्ण दयाल ‘सोराडी’

हिजो भागाभागमा परेका
घर छाडेर हिँडेका
महाशयहरू
जबदेखि शान्तिको घोडा चढेर गाउँ पसे
तबदेखि मौन शान्ति मौलायो
मौन शान्ति झाङ्गिन पुग्यो
गाउँ–गाउँ र बस्ती–बस्तीमा ।

हिजो च्यातिएका
तमसुकहरू
बन्धकीहरू
पुनर्लेखन गरिए
अगुँठा च्यापिए चुपचाप
दोब्बर रकम राखेर
घरमा पालिएका भैँसीहरू खेदिए
खसीहरू ढालिए आफ्नै हातले
उजुर–बाजुर कहीँकतै हुँदैन
गरे पनि लाग्दैनथ्यो
किनकि
तमसुक र बन्धकीहरू
लेख्ने कलमहरूसित
भैँसीको दाम्लो फुकाल्ने हातहरूसित
खसी ढाल्ने खुकुरीको धारमा
शान्ति सवार भएको थियो
र त मौनता छाएको थियो ।

देशमा दुई संविधानसभा भए
सभाहलमै कुटाकुट भयो
ब्रिफकेस खोसाखोस भयो
बिप्पा सम्झौता गरियो
एकातिर संविधान बनेकोमा दीपावली
अर्कोतिर मधेस उल्र्यो
कालो दिन मनायो
दक्षिणले नाकाबन्दी लायो
लामो समयसम्म नेपालीले सास्ती पायो
सरकार फेरिरहे, वार्ता चलिरहे
संशोधनको अवाज उठिरह्यो
चरण–चरणमा तह–तहको चुनाव गरियो
तह–तहका सरकार बने
डोजरहरूको व्यापार भयो
खोला तरेको कर उठायो
कसले बोल्न सक्ने ?
बोले पनि सुनुवाइ हुँदैन
किनकि
बाह्रबुँदे समझदारीसित
बृहत् शान्ति–सम्झौताभित्र
संविधानभित्र
दलहरूभित्र
तह–तहको सरकारभित्र
मौनताको शान्ति मिसिएको छ
मौनताको शान्तिले गाँजेको छ ।

त्यसैले
यस्तो मौनताको शान्तिभन्दा
मसानघाटको मूर्दा शान्तिभन्दा
आफ्नो पीडा पोख्न पाउने
भोको छु भन्न पाउने
कराउन पाउने, रुन पाउने
मनकाे रापताप ओकेल्न पाउने
साँचो बोल्न पाउने
अशान्ति नै प्यारो बन्न थाल्छ ।
–०–


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com