फ्रान्स : विद्यार्थीलाई पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या



प्रकाशित मिति : Oct 17, 2020

एजेन्सी, १ कार्तिक । फ्रान्समा आतंकवादी शैलीमा एक शिक्षककाे हत्या गरिएकाे छ । विद्यार्थीलाई पैगम्बर मोहम्मद (मुस्लिम धर्मगुरू) को कार्टुन देखाएकाे भन्दै ती शिक्षकको शुक्रबार हत्या गरिएको हाे । राजधानी पेरिसमा नै उनकाे टाउको काटी हत्या गरिएकाे बिबिसीले जनाएकाे छ ।

समाचार एजेन्सीहरूका अनुसार ती शिक्षकले आफ्ना विद्यार्थीलाई फ्रान्सको चर्चित व्यङ्ग्य पत्रिका चार्ली हेब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए । साेही कारण उनीमाथि विद्यालय नजिकै आक्रमण भएकाे हाे ।

स्थानीय समय अनुसार शुक्रबार साँझ ५ बजे शिक्षकमाथि आक्रमण भएको थियो । तर आक्रमणकारी भाग्न भने सकेन, भाग्ने क्रममै आक्रमणकारीको पनि प्रहरीले गोली हानी हत्या गरेको छ । उनलाई गिरफ्तार गर्ने प्रयास गरे पनि सफल नभएपछि प्रहरीले गोली हानेको बताइएकाे छ ।

घटनालगत्तै उक्त स्थान पुगेका राष्ट्रपति इमानुएल माक्रोनले यो ‘इस्लामिक आतंकवादी हमला’ भएको बताएका छन् । ती शिक्षकले ‘अभिव्यक्ति स्वतन्त्रता’ पढाएकै कारण हत्या गरिएको माक्रोनकाे दाबी छ ।

यसअघि उक्त कार्टुन छाप्ने पत्रिकाकाे कार्यालयमा हमला भएकाे थियाे । सन् २०१५ मा चार्ली हेब्डो पत्रिकामा आक्रमण गरेर पत्रकारसहित ११ जनाको हत्या गरिएकाे थियाे । शुक्रबारकाे घटनालाइ पनि आतंकवाद विरोधी समूहका वकिलले साेही घटनासँग जोडेर अनुसन्धान थालेको जनाइएको छ ।

तीन साताअघि पनि उक्त पत्रिकाको तत्कालीन कार्यालयअघि दुई जना संचारकर्मीमाथि आक्रमण भएको थियो । सुरक्षाका कारण अहिले चार्ली हेब्डोको कार्यालय गोप्य ठाउँमा राखिएको छ बताइएकाे छ ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com