सम्झनामा निर्मला : ‘कतै भोलि म त हुने होइन अर्की निर्मला ?’



प्रकाशित मिति : Oct 16, 2020

  • राेनिशा फुयाल

आजभोलि मलाई डर लाग्न थालेको छ । हिजोसम्म बेपर्वाह दौडिने मेरा पैतालाहरु अचेल घरको चार दिवारबाट बाहिर टेक्दा समेत काँप्न थालेका छन् । हिजोसम्म ठाडो अडिने मेरो शीर अचेल मर्दको एक नजरमा झुक्न थालेको छ । अचेल आफ्नै मनले आफैसँग प्रश्न गर्न थालेकाे  छ- ‘म कहाँ र कोसँग सुरक्षित छु ?’

हरेक दिन सुन्छु/पढ्छु/देख्छु बलात्कारका घट्नाहरू-

– आफ्नै बाबुद्वारा छोरीमाथि बलात्कार…
– सुसराद्वारा बुहारीमाथि बलात्कार…
– आफ्नै दाजुबाट बहिनीमाथि बलात्कार…
– शिक्षकद्वारा विद्यार्थीमाथि बलात्कार…
– आफ्नै घरभित्र महिला बलात्कृत…
– खुल्ला चौरमा सामुहिक बलात्कार…
– बसभित्र बेहाेस बनाएर बलात्कार…

उफ्, जताततै बलात्कार नै बलात्कार !

म अचेल सम्झिन्छु, न्याय कुरिरहेकी निर्मलाकाे अात्मालाई ।  लाग्छ, कतै भोलि मैले पनि उनीजसरी नै न्याय कुर्नपर्ने त होइन ? हजुर दुई वर्ष बितिसक्यो न्यायको बाटो हेर्दाहेर्दै । सेलाइसके हिजो निर्मलाको न्यायको लागि तातिएका सडकरु । मौन भैसके हिजो बुलन्द भएका आवाजहरु । अनि थाकिसके न्याय पर्खिरहेका आँखाहरु । अफसोस्- बढ्दै छन् त निर्मलाझै निमोठिएका नानीहरू ।

म सम्झिन्छु- मन्दिरभित्र मारिएकी सम्झनालाई । लाग्छ, ईश्वरले त उसको अस्मिता जोगाउन सकेनन्, म कसको आश गर्नु ? यो सरकारको, जो मुर्तिझैँ मौन छ ?

हजुर मलाई रत्तिभर पनि आश छैन कसैको । प्यारी सम्झना, तिमी पनि आश नगर्नु । सुन्नेवाला छैनन् यहाँ कसैले हाम्रो चित्कारलाई । बुझ्नेवाला छैनन् कसैले हामीमाथिकाे उत्पीडनलाई । बस्, सम्झिनु- तिमी अर्की निर्मला थियौ, जसलाई निमोठेर फालियो । जबसम्म मौन बसेको सरकार बोल्दैन, यहाँ कसैलाई पनि न्याय मिल्दैन ।

आज हरेकलाई यहीँ डर छ- ‘कतै भोलि म त हुने होइन अर्की निर्मला ?’ हरेक पुरुष सम्भावित बलात्कारी हुन् भन्न मिल्दैन तर हरेक नारी सम्भावित निर्मला नहोलिन् भन्न सकिने अवस्था छैन !


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com