कोभिड- १९ का बिरामीमा रेम्डेसिभिर ‘खासै प्रभावकारी’ नदेखिएकाे दाबी



प्रकाशित मिति : Oct 16, 2020

एजेन्सी, ३० असाेज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड-१९ (काेराेना भाइरस) संक्रमित बिरामीमा प्रयाेग गरिने ‘रेम्डेसिभिर’ नामक औषधिको उपचारमा प्रभावकारिता नदेखिएकाे भन्दै प्रश्नचिह्न उठाएकाे छ । उक्त औषधिको क्लिनिकल परीक्षणहरूमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको  डब्ल्यूएचओले जनाएकाे छ ।

बिबिसीका अनुसार ‘फाइन्यान्शल टाइम्स’मा प्रकाशित एक विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ । उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको ट्रायल गरिएकाे थियाे, जसमा अस्पतालमा भर्ना भएका ११ हजार बिरामीमा प्रयोग गरिएको थियो ।

यस अध्ययनले ती कुनै पनि औषधिले काेभिडका गम्भीर बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने/नपर्ने र कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको नदेखिएकाे बताइएकाे छ ।

रेम्डेसिभिर औषधि खासगरी इबाेला भाइरसकाे उपचारमा प्रयाेग गरिन्थ्याे । पछिल्लाे समय यसलाइ काेभिडका बिरामीमा पनि प्रयाेग गरिँदै अाएकाे छ । यसकाे  निर्माता कम्पनी गिलियड साइन्सेसले भने माथि उल्लिखित परीक्षणको आँकडा अमिल्दो देखिएकाे दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com