नागरिक समाजद्वारा स्वास्थ्य संस्थामा अनुगमन



प्रकाशित मिति : Oct 16, 2020
  • यामराज कटुवाल

दैलेख, ३० असाेज । नागरिक समाजद्वारा दैलेखको गुँरास गाँउपालिका वडा न. ३ मा रहेको सेरी स्वास्थ्य चौकीको अनुगमन गरिएको छ । स्वास्थ्य संस्थाले गरेको सेवा प्रवाहको नागरिक समाजले बिहीबार अनुगमन गरेको हो ।

नागरिक समाजले स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकासँग सेवाको पहुँच, भौतिक पुर्वाधारको अवस्था, लक्षित वर्गका कार्यक्रम, व्यवस्थापन समितिको प्रभावकारिता र सूचनाको सार्वजनिकीकरण लगायत विषयमा स्वास्थ्य संस्थाको सेवा निगरानीको मापदण्डअनुसार छलफल गरेको थियो ।

स्वास्थ्य संस्थामा नीतिगत व्यवस्थाअनुसार कार्यान्वयनको अवस्था र सेवाको प्रभावकारिताको सुचना संकलन गरिएको थियो । स्वास्थ्य चौकीमा नौ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेको, महिनामा २ पटक दुई स्थानमा खोप केन्द्र र दुई स्थानमा गाँउघर किल्निक रहेको सुचना प्राप्त भएको थियो । स्वास्थ्य संस्थामा सेवा प्रवाहको अवस्था सन्तोषजनक रहेकाे स्वयंसेविकाहरूले बताएका थिए ।

स्वास्थ्य संस्थाले ३५ किसिमका औषधि उपलब्ध गराउनुपर्नेमा २० प्रकारका औषधि मात्र उपलब्ध गराउन सकिएको चाैकीका ईन्चार्ज प्रेम भट्टराईले जानकारी दिए । गाँउपालिकामा पटकपटक औषधिको लागि अनुरोध गरे पनि उपलब्ध हुन नसकेको उनको भनाई छ ।

स्वास्थ्य संस्थामा दुई घण्टासम्मको पैदल दुरी हिँडेर सेवाग्राही आउने गरेकाे र दश मिनेटभित्र सेवा दिने गरेकाे उक्त चौकीका ईन्चार्ज प्रेम भट्टराईले जानकारी दिए । स्वास्थ्य चौकीमा शौचालयको अवस्था जीर्ण रहेको, प्रसुति सेवा दिने जनशक्तिका लागि बास बस्ने स्थानको व्यवस्था, स्वास्थ्य चौकीको घेरबार, महिला स्वास्थ्य स्वयंसेविकाका लागि प्रोत्साहन कार्यक्रम संचालन गर्न आवश्यक देखिएको अनुगमन टोलीको सुझाव रहेको थियो ।

स्वास्थ्यचौकीमा पर्याप्त जनशक्ति, नियमित खोप सेवा, नियमित उपस्थिति, व्यवस्थित प्रसुति सेवा  देखिएको गैरसरकारी संस्था महासंघका अध्यक्ष महारुप खत्रीले बताए ।  नागरिक समाजले समग्रमा स्वास्थ्य संस्थाको तुलनात्मक रुममा सेवा प्रवाहको अवस्था सन्तोषजनक रहेको र सुधार गर्नु पर्ने पक्षका विषयमा सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com