चीनले औँला मागेर हत्केला निल्ने नीति लियो, सीमाका नेपालीलाई नबोल्न धम्की : नेता शाही



प्रकाशित मिति : Oct 12, 2020
. जनकबहादुर शाही
हुम्ला, २६ असोज । लिमीको ललोङजोङ्गमा नेपाली भूमिमा चिनियाँ पक्षले सीमा मिचेर भौतिक संरचना बनाएको समाचार आइरहेका बेला नेपाल सरकारले हुम्लाको लिमीमा चीनले भूमि अतिक्रमण नगरेको भन्दै प्रष्ट पार्ने प्रयास गरेको थियो । तर अहिलेसम्म असल छिमेकीका रुपमा हेरिएको चीनले नेपाली सीमाको अतिक्रमण गरी नेपाल माथि विस्तारवाद लागू गरेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं कर्णाली प्रदेश सभा कांँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको दावी छ ।
सीमा अबलोकन गरी फर्केपछि सदरमुकाम सिमकोटमा आयोजित पत्रकार भेटघाटमा पूर्वमन्त्री समेत रहनुभएका नेता शाहीले एक ठाउँमा नभई धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको दावी पेश गर्नुभयो ।
चीनले लिमीको लाप्चा क्षेत्रको दाहिने लाप्चामा रहेको १२ नम्बर पिलर पुन निर्माण गरेको, ९(२) नम्बर पिलरलाई मध्य बनाएर आफ्नो घेरावार हालेको, ७ (२)नम्बर पिलर कता छ पत्ता लगाउने अबस्था नभएको, ६ (१), ५ ९(१)र ५ (२)नम्बर पिलर पिलरलाई आफ्नोतिर पारि नेपाली भूमिमा घेरावार गरेको प्रत्यक्ष अबलोकन भ्रमणका क्रममा भेटिएको नेता शाहीले बताउनुभयो ।
सीमा क्षेत्रको स्थलगत अनुगमनपछि भूमि मिचिएको विषयमा अभिव्यक्ति दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसँग गृह मन्त्रालयले ७ असोजमै लिखित स्पष्टीकरण लिएको थियो । सधै दक्षिण तिर भारतले नेपाली सीमा मिचेको भन्ने सुनिन्थ्यो भन्दै काँग्रेस नेता शाहीले पछिल्लो समय हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको आरोप लगाउनु भयो ।
चीनसँगको सीमा क्षेत्रमा रहेका पिलरहरुको स्थलगत अवस्थाको अवलोकन गरेर सदरमुकाम सिमकोट फर्केपछि नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता शाहीले धेरै ठाउँमा चीनले बल मिच्याइँ गरेको र सीमा क्षेत्र हिल्सामा रहदै आएका नेपाली सुरक्षाकर्मीहरुलाई पिलरहरुको अनुगमन गर्न जानेक्रममा ढुङ्गाले हानेर सीमा स्तम्भ स्थलतिर जान नदिएर अभद्र व्यवहार गरेको बताउनुभयो ।
असोज १४ गते सिमकोटबाट सीमा अबलोकनका लागि गएका नेता शाहीले नेपाली भूमि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को लिमी क्षेत्रको लाप्चामा पर्ने ललोङजोङमा पुगेपछि चिनियाँ पक्षले बनाएका घरहरु नेपाली भू–भागमै पर्ने दावी गर्नुभयो । त्यस्तै सरकारले दुवै देशका सीमा विज्ञ र स्थानीयको उपस्थितिमा यथाशक्य चाँडो अध्ययन तथा अनुगमन गर्न समेत उहाँले सरकारसंग माग गर्नुभयो ।
अहिले सीमा क्षेत्रमा रहेका पिलरको अवलोकन गर्दा चीनले औँला मागेर हत्केला निल्ने नीति अबलम्बन गरेको र सीमा क्षेत्रका नेपालीलाई पिलरका बारेमा नबोल्न समेत चीनले धम्की दिने गरेको पाइएको उहाँको दावी छ । उहाँले पहिले पिलरलाई घेरबार गर्नेपछि नेपाली पक्षको उपस्थिति नहुने देखिएपछि त्यसलाई आफुखुसी सार्ने रणनीतिमा चिनियाँ पक्ष रहेको जिकिर पनि गर्नुभयो ।
अहिले चीनले मिचेको सीमाका सम्बन्धमा नेपालमा राजनीति दल भन्दामाथि उठेर राष्ट्रियताको पक्षमा बुलन्द आवाज उठाउने बेला आएको हुँदा सीमा अबलोकन पछि आफूले तयार पारेको स्थलगत प्रतिवेदनलाई जिल्लामा सर्वदलीय बैठक, स्थानीय अधिकारीहरुसंगै केन्द्रमा प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, नेपाली काँग्रेसका सभापति, नेकपाका अध्यक्ष प्रचण्ड लगाएका नेताहरुलाई पनि पेश गर्ने नेता शाहीले बताउनुभयो। देश नै नरहे हामी कोही पनि नरहने स्पष्ट पार्दै नेता शाहीले यो आवाजलाई सँधै उठाइ रहने प्रतिबद्धता जनाउनुभयो । उत्तर र दक्षिण समान मित्र भएको तर अन्याय गर्ने जो कोहीका विरुद्ध डर नमान्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com