२२ आश्विन २०७७, बिहीबार

काठमाडौं, २२ असोज । सरकारले कोरोना भाइरसका संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकाको अवस्था भयावह उन्मुख रहेको जनाएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर उच्च हुँदै जाँदा जोखिम बढेको बताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यकामा कुल एक सय ८१ आईसीयू मध्ये ८२ वटा आइसीयू प्रयोगमा रहेको बताउनुभयो । साथै, काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर मध्ये २७ वटा अहिले प्रयोग भइरहेका छन् ।

सरकारले कोभिडका बिरामीको उपचारका लागि देशभर १ हजार ६९ वटा आइसीयु बेड छुट्याएको जनाएको थियो ।

कोरोना संक्रमणको उपचारको लागि छुट्याइएका उपत्यकामा ठूला अस्पताल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, वीर अस्पतालका कोभिड बेड र आइसीयु बेडहरु भरिएका छन् ।

लक्षणसहितका सक्रिय संक्रमितलाई बेड अभाव भएर इमर्जेन्सीमा उपचार गर्न थालिएको छ । प्रवक्ता गौतमले दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्न र दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।

LIVE TV