२२ आश्विन २०७७, बिहीबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २२ असोज । अति विपन्न वर्गका भूकम्प प्रभावितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाले निःशुल्क घर निर्माण गरिदिएको छ । भूकम्प गएको लामो समयसम्म पनि घर निर्माण गर्न नसकेका भूकम्प प्रभावितका लागि प्राधिकरणले घर निर्माण गरिदिएको हो ।

आर्थिक अवस्था कमजोर भएका तथा सरकारी अनुदानसमेत लिन नजान्ने भूकम्प प्रभावितहरु नयाँ घर बनेपछि खुसी भएका छन् । पुनर्निर्माण प्राधिकरणले लामो समयसम्म घर निर्माण गर्न नसकेका नागरिकहरुको खोजी गरी घर निर्माण गरिदिएको हो ।

जोखिमयुक्त वर्गभित्र पर्ने जेष्ठ नागरिक, जेष्ठ एकल महिला तथा अशक्त, अपांगता भएका नागरिकहरुको पहिचान गरेर घर निर्माण गरिदिएको हो । आर्थिक अवस्था कमजोर भएका तथा सरकारी अनुदानसमेत लिन नजान्ने भूकम्प प्रभावित नागरिकले घर पाएपछि हर्षित भएका छन् ।

सिद्धिचरण नगरपालिका–९ का होम बहादुर बानियाँले स्थानीय सरकार तथा पुनर्निर्माणका कर्मचारीले घर बनाईदिएकोमा धन्यवाद दिए । उनले आफू अपांगता भएतापनि अब आफू बाचुन्जेललाई घर बनेकोमा खुसी व्यक्त गरे ।

त्यस्तै अर्का स्थानीय एकल महिला रहरमाया बानियाँले पनि घर पाएपछि खुसी ब्यक्त गर्दै अब घर निर्माण भएपछि पाइने अनुदान बापतको रकम दिलाईदिन समेत आग्रह गरिन् ।

भूकम्प गएको ६ वर्ष पुग्न लाग्दा समेत घर बनाउन नसकेर झुपडीमा बस्दै आएका नागरिकलाई पुनर्निर्माण प्राधिकरणबाट खटिएका डकर्मी तथा सिकर्मीले निःशूल्क घर निर्माण गरिदिएका हुन् ।

आवश्यक सामग्री जोहो गरेका जोखिमयुक्त वर्गका भूकम्प प्रभावितलाई वडा तहमा खटिएका प्राविधिकको प्रत्यक्ष निगरानीमा घर निमार्ण गरिएको हो । नयाँ घर बनेपछि उनीहरुलाई अनुदान बापत पाउने रकमका लागि समेत प्रकृया चालिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव ईन्जिनियर पवन कुमार साहले बताए ।

पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि झुपडीमा बस्दै आएका जोखिमयुक्त वर्गका नागरिकको खोजी गर्न सामाजिक परिचालक परिचालन गरेको थियो ।

उनीहरुले स्थानीय तहसंगको सहकार्यमा वडाभित्रका जेष्ठ नागरिक, जेष्ठ एकल महिला तथा अशक्त, अपांगता भएका ब्यक्तिहरुको पहिचान गरी सरकारी डकर्मी तथा सिकर्मीबाट निःशूल्क घर निर्माण गरिदिएको प्राधिकरणका सामाजिक परिचालिका कोपिला अधिकारी वाग्लेले बताइन् ।

सिद्धिचरण नगरपालिकामा हालसम्म जोखिमयुक्त बर्गका ११ वटा घर निर्माण भइसकेका छन्, भने पाँच वटा घर निर्माणाधीन छन् । यी बाहेक अन्य ५० वटा घर निर्माणको चरणमा छ ।

जिल्लाभर करिब ३५ भन्दा बढी अति बिपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिसकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाले जनाएको छ ।

LIVE TV