२२ आश्विन २०७७, बिहीबार
  • अमर काफ्ले इनरुवा

सुनसरी, २२ असोज । कोरोनाको जोखिमका बीच जिल्लाको प्रमुख अड्डा एकदम भीडभाड छ । यहाँ कोरोनाबाट जोगिनका लागि कुनै नीति नियम पालना गरेको देखिदैन ।जिल्ला प्रशासन कार्यालय सुनसरीमा देखिएको सेवाग्राहीको अव्यवस्थित भीडले सेवा प्रवाहको अवस्थाको खिल्ली मात्र उडाएको छैन् । नीयमनकारी निकायका रुपमा रहेको सिडियो अफिसका लागि उक्त भीड लज्जाको विषय समेत बन्न पुगेको छ ।

नागरिकता बनाउन पुगेका सेवाग्राहीको भीड अत्याधिक देखिदा समेत प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड लागू गराउन नसकेको देखिन्छ । भौतिक दूरीको कुरै छोडौं । कार्यालयमा मास्क र साबुन पानीको अनिवार्यता पनि छैन ।

स्वयं कायालयका कर्मचारी सेवाग्राहीको बढ्दो भीडले कोरोनाको जोखिम बढाएको बताउँछन् । त्रासका बीच काम गर्न असहज भैरहेको कर्मचारीले बताइरहँदा सेवा प्रवाहका क्रममा देखिएको लापरवाहीका बारेमा भने उनीहरुले खासै बोल्न चाहेनन् । जसलाई अन्य सरोकारवालाहरुले भने गम्भीर त्रुटी भनेका छन् ।

सेवा प्रवाहलाई चुस्त र भौतिक दूरी युक्त बनाउन नसक्नु कार्यालयको कमजोरी रहेको उनीहरुको बुझाइ छ । अधिकारकर्मी रमेश भट्टराईले भने, ‘काम विशेषले प्रशासन कार्यालय गएको थिएँ । अप्रत्यासित र अव्यवस्थित भीडले पर भाग्नु पर्ने अवस्था आयो । सिडियो अफिसमा त्यस किसिमको लापरबाही कल्पना गरेको थिइन् ।’

अव्यवस्थित सेवा प्रवाह र लापरबाहीले कोरोनाको जोखिम बढाउने तर्फ सबै सजक र सचेत रहन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिए । उता प्रशासन कार्यालय सुनसरीले भने कार्यालय खुले लगत्तै एक्कासी हुल प्रवेश गर्दा भीड देखिएको बताउँदै आउँदा दिनमा सुधार गरी अघि बढ्ने जनाएको छ ।

 

LIVE TV