२२ आश्विन २०७७, बिहीबार
  • दान बहादुर बुढा

मुगु, २२ असोज । मुगु जिल्लाको पश्चिम भेगमा पर्ने सोरु गाउँपालिका वडा नं- २ जडेपानीगाउँका ९ जना मनकारी स्थानीयले विद्यालयको भौतिक सुधारको निम्ति लाखाैँ मूल्य बराबरको करिव ११ रोपनी जग्गा जनज्योति माध्यमिक विद्यालयलाई नि:शुल्क उपलब्ध गराएका छन् ।
स्थानीय जडेपानी गाउँनिवासी नरजंग शाही र टोपबहादुर शाहीले १५ सय वर्गमिटर, मेलबहादुर शाही र मञ्जन शाहीले ७ सय वर्गमिटर, दलबहादुर मल्लले ३ सय ५० वर्गमिटर, मानबहादुर शाहीले १ सय ३२ वर्गमिटर जग्गा जनज्योति माध्यमिक विद्यालयलाई निःशुल्क दिएका हुन् ।

त्यस्तै सोही गाउँका कर्मकला शाहीले १ सय १७ वर्गमिटर, मिमा शाहीले २ सय ४२ वर्गमिटर र भरत शाहीले १ सय ५७ वर्गमिटर जग्गा विद्यालयको नाममा निःशुल्क नामसारी गरेर उदहारणीय बन्न सफल भएका छन् ।

आफ्ना छोराछोरीलाई घरमै गुणस्तरीय पढाइ होस्, सातु-सामल झोलामा बोकेर जिल्लाबाहिर पढ्न जानु नपरोस् भन्ने उद्देश्यका साथ जडेपानी गाउँका स्थानीयले माध्यमिक विद्यालयको नाममा निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।

विद्यालयको भौतिक सम्पत्ति वृद्धि गर्न र आफ्ना छोराछोरीलाई पढ्न सजिलो वातावरण बनाउन गाउँलेहरू मिलेर ११ रोपनी जग्गा माध्यमिक विद्यालयलाई चन्दा दिएको जग्गाधनी मेलबहादुर शाहीको भनाइ छ ।

घरमै गुणस्तरीय शिक्षा हासिल होस् भन्ने हिसाबले भोगचलन गर्दै आएको खेतीयोग्य जग्गा विद्यालयको नाममा नामसारी गर्नुपरेको उनको भनाई छ ।

एक रुपैयाँ नलिएर ११ रोपनी जग्गा स्कुललाई दान गरेको जडेपानी गाउँकै अर्का समाजसेवी नरवीर शाहीले सुनाए । लाखौँ मूल्यको जग्गा स्कुलले निःशुल्क पाएपछि शैक्षिक स्थिति प्रभावकारी हुनेमा आशावादी रहेकाे समाजसेवी शाहीको भनाई छ । पहिले यस माध्यमिक विद्यालयको नाममा जग्गा नहुँदा भौतिक पूर्वाधारको अभाव, छात्रछात्रालाई कक्षाकोठाको समस्या तथा घेरबारको अभाव स्कुलले खेप्दै आएको जनज्योति माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य पूर्णबहादुर मल्ल बताउँछन् ।

२०३४ सालमा स्थापना भएको उक्त माध्यमिक विद्यालयको नाममा पहिलोपटक ११ रोपनी जग्गा नामसारी भएको छ । जडेपानी गाउँका मनकारी ९ जना स्थानीयले यस विद्यालयलाई ११ रोपनी जग्गा निशुल्क दान दिएको प्रधानध्यापक सुवास रावलले जानकारी दिए । ‘अब कक्षाकोठा विस्तार, खानेपानी, शौचालय, खेलमैदान र घेरबारको काम अघि बढाउन सहज हुनेभयो,’ उनले भने ।

विद्यालयको पूर्वाधार निर्माणको कामका लागि भारतीय राजदूतावास, गैरआवासीय संघ-संस्था, वडातह, गाउँपालिका, सरकारी कार्यालय, गैसस निकायसँग परियोजना प्रस्ताव लेखेर पेश गरी बजेट माग गर्ने प्रधानध्यापक रावलको भनाई छ ।

हाल जनज्योति माध्यमिक विद्यालयमा इसिडी कक्षादेखि १२ सम्म पढाइ हुने गरेको छ । कुल विद्यार्थी संख्या ७ सयभन्दा बढी रहेको छ उक्त विद्यालयमा शिक्षकसहित कर्मचारीको संख्या २३ जना रहेको छ ।

चालु आर्थिक वर्षदेखि उक्त विद्यालयमा सिभिल इन्जिनियरिङ समेत पढाइ सुरु गरिएको छ । फोतु, नेर, लिब्रु, नाथपु, सोरुकोट, भीई र छिमेकी जिल्ला हुम्लाको तुम्चलगायत बस्तीबाट जनज्योति माध्यमिक विद्यालयमा पढ्न आउने गरेका छन् ।

LIVE TV